आधुनिक खोरमा किसानको आकर्षण «

आधुनिक खोरमा किसानको आकर्षण

जैमिनी नगरपालिका–१० राङखानीका दुर्गाबहादुर थापाले व्यावसायिक हुन आधुनिक बाख्राको खोर बनाएका छन् । उनको खोरमा २५ वटा बाख्रा छन् ।
यसअघि परम्परागत खोरमा बाख्रा पालेका कृषक थापाले आधुनिक खोरमा राख्दा बाख्राले राम्रो उत्पादन दिने प्राविधिकको सल्लाहमा खोर बनाएको बताए । राङखानीकै एलु थापाले पनि बाख्रा र बंगुरको खोर बनाएका छन् । आधुनिक खोरमा बाख्रा र बंगुरको उत्पादन बढाउने उनको चाहना छ ।
विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरेको कृृषि ज्ञान केन्द्रले किसानलाई लागतको ९० प्रतिशतसम्म अनुदान दिएपछि उनीहरू हौसिएर काम गर्दै आधुनिक खोर बनाएका हुन् । असारको पहिलो साता सम्झौता गरेका यहाँका ३० किसानले आधुनिक खोर बनाइसकेको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।
बाख्राको खोर बनाउनेलाई केन्द्रले ४० हजार लगानी गरेको र त्यसमा किसानले चार हजार चार आफ्नो लगानी थप्नुपर्छ । त्यस्तै बंगुरको खोर बनाउन केन्द्रले ५० हजार दिँदा किसानले पाँच हजार लगानी गरेका छन् । “अधिकांशले खोर बनाएर बाख्रा बाँधिसके, केहीले अझै पूरा गर्दैछन्,” उनले भने, “काम सकेको प्राविधिक प्रतिवेदनको आधारमा मात्रै किसानले भुक्तानी पाउँछन् ।”
राङखानीलाई बाख्रा र बंगुरको स्रोत केन्द्रकै रूपमा विकास गर्न यो लगानी गरिएको केन्द्रका प्रमुख भट्टराईले बताए । ढिलागरी बजेट आए पनि विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम छनोटका लागि चार वटा स्थानलाई रोजिएको थियो ।
ती बस्तीमध्ये विपन्न परिवार, काम गर्ने चाहना र आवश्यकता समेतको पहिचान गरेपछि राङखानीको यही गाउँ छनोटमा परेको हो । “यहाँका किसानले धान रोप्ने कामसमेत छाडेर खोर बनाएको देख्दा साँचिकै आवश्यकता रहेछ भन्ने देखियो,” जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले भने, “अब किसानले आफ्ना उत्पादन बेचेर धनी भएको पनि देख्न पाउनुपर्छ ।” सबै विपन्न बस्तीको रुपमा रहने अवस्था अन्त्य गर्न कृषि ज्ञान केन्द्रले काम गर्नुपर्ने उनको सुुझाव थियो ।
विपन्न बस्ती छनोट गरेर लगानीका लागिसमेत समन्वय प्रमुखकै अध्यक्षतामा समिति गठन हुन्छ । उक्त समितिले गरेको निर्णयपछि मात्रै बजेटका लािग माग गरिने प्रावधान छ । माग गरेको बजेट ढिला आए पनि समयमा काम सकेकाको आवश्यकता देखिएको समन्वय समिति प्रमुख थापाले बताए । यहाँ दलित र मगर विपन्न बस्तीका रूपमा सूचीकृत भएका छन् । चालू वर्षका लागि उक्त केन्द्रमा ३५ लाख ३५ हजार बजेट आएकोमा तिनलाई ४१ वटा खोरमा लगानी गरिएको र त्यसबाहेक कृषि फसल उत्पादन गर्ने किसान, प्लास्टिक टनेल, बेमौसमी उत्पादनलगायतमा पनि लगानी भएको उनको भनाइ थियो ।
किसानले खोर बनाएपछि बोयर बोका पाल्ने योजना पनि सुनाए । केही किसानले बंगुरको संख्या बढाएर व्यावसायिक बन्ने योजना बनाएका छन् । किसानले सूर्यमुखी किसान समूह गठन गरेर विपन्न बस्ती समेटेका छन् । “समूहमा आबद्ध भएर पनि केही किसानले तत्काल काम गर्न नसकेर बजेट लिएनन्,” समन्वय समिति प्रमुख थापाले भने, “आगामी वर्ष अन्य कार्यक्रमलाई समेत जोडेर बस्तीका सबैलाई सम्पन्न बनाउने लक्ष्य लिएका छौं ।”
केन्द्रले सञ्चालन गरेको कृषि फार्मको भुक्तानीका लागि जिल्ला समन्वय समिति, प्रशासन, ज्ञान केन्द्र र जनप्रतिनिधि समेतले अनुगमन गरेका छन् । अनुगमनपछि उपयुक्त ठहर भएका योजनामा मात्रै भुक्तानी गर्ने केन्द्रका प्रमुख भट्टराइले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि राङखानीका किसानका लागि लगानी गरिएको छ । पाहीकै केदार आचार्यले निर्माण गरेको सुन्तला बिरुवाको नर्सरी निर्माणमा १५ लाख लगानी गरिएको परियोजनाका निमित्त प्रमुख सुजित पौडेलले बताए । अनुसन्धान केन्द्र तथा बिरुवाको स्रोत केन्द्र बनाउन उनले यहाँ ५० लाखभन्दा बढी लगानी गरका छन् ।

प्रतिक्रिया दिनुहोस्