सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागि परेको आरोप «

सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागि परेको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागि परेको आरोप लगाए ।
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेताहरू चुनावका लागि चन्द संकलनमा व्यस्त रहेको, कर्मचारीहरू कमिसनमा चलेको, ठेकेदारहरू कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति समेत जनाए ।
सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरूलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि सरकारलाई दबाब दिए । आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास, निर्माणका कामहरूमा ढिलाई रहँदा पनि सरकारले कुनै चासो नदिएको उनको गुनासो थियो ।
सांसद सुनुवारले भने, ‘सरकार बिचौलियाहरूबाट कमाउन व्यस्त छ । नेताहरू चुनावका लागि चन्द संकलनमा मस्त । कर्मचारीहरू कमिशनमा रमाउने, अनि ठेकेदारहरू काम नगरी कमाउने । आजको मुलुकको अवस्था, मुलुकका थिति यहाँ पुगेको छ भन्ने कुरा समाजमा उठन थालेको छ । आज जुन ढंगले हामीले गति दिनुपर्ने थियो, हामीले भनेका थियौ–सार्वजनिक खरिद ऐन यो संसदमा ल्याइयोस् । त्यसमा आमूल परिवर्तनको खाँचो छ । राम्रो काम गर्ने पुरस्कार, ढिलासुस्ती र कमजोर काम गर्नेहरूलाई कारबाही हुनुपर्छ भनेर हामीले भनेका थियौं । तर त्यसो हुन सकिरहेको छैन । मेरो जिल्ला ओखलढुंगामा समेत थुप्रै सरकारी भवनहरू, सडक कालोपत्रे लगायतका स्तरोन्नति गर्नुपर्ने अनि विद्यालय भवनहरू, सँगसँगै स्वास्थ्यका भवनहरू अनि पुलहरू, सडकहरू निर्माणमा जुन प्रकारले ढिला भइरहेको छ । यसले नागरिकलाई त्यहाँका जनतालाई ठूलो मार परिरहेको कुरा मैले पटकपटक उठाईरहेको छु । ’
सांसद सुनुवारले पुलपुलेसाहरूको आवश्यक व्यवस्था सरकारले मिलाउन नसक्दा जनता मारमा परिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्