प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लीलादेवी सिटौला «

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लीलादेवी सिटौला

जनता समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आपत्ति जनाएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिटौलाले विगतमा केपी ओली नेतृत्वको सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याउँदा राष्ट्रपतिले प्रमाणीकरण गरेको तर अहिले संसदबाट पारित भएको विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै आपत्ति जनाएका हुन् । उनले राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टी विशेषको हुन्छ ? भन्ने प्रश्नसमेत गर्नुभयो । उनले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराए । सांसद सिटौलाले भने, ‘केपी शर्मा ओलीज्यूले लगभग दुईतिहाइ नजिकको सरकार तीन वर्ष चलाउनुभयो । २२ महिनासम्म नागरिकता विधेयक समितिमा छलफल भयो तर विधेयकका रूपमा उहाँले संसदमा ल्याउनुभएन । जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब उहाँले त्यही अहिले सरकारले विधेयकको रुपमा ल्याएर पास गरेको नागरिकता विधेयकलाई अध्यादेशको रूपमा ल्याउनु भयो । र राष्ट्रपतीज्यूले त्यो अध्यादेशलाई लालमोहर लगाउनु भयो । तर आज त्यही अध्यादेशको रूपमा केपी शर्मा ओलीज्यूले ल्याउनुभएको विधेयक संसदमा आयो र पास भएर गयो तर उनले लालमोहर लगाउनु भएको छैन । यो विडम्बना । राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टीको हुन्छ कि कुनै व्यक्ति विशेषको हुन्छ कि ? म सम्बन्धित पद र त्यस पदमा रहनु हुने सम्माननीय व्यक्तिको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले देशका अगुवा नेताहरूको जुँगाको लडाइँका कारण देश अस्थिर भइरहेको बताए । उनले देशको परराष्ट्र नीति पार्टीपिच्छे फरक रहेको भन्दै देशको परराष्ट्र नीति एउटै हुनुपर्ने बताए । परराष्ट्र नीति एउटै भएमात्रै देशस्थिर रूपले अगाडि बढ्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्