अहिले दैनिक खर्च पुर्याउन मुस्किल छ । खेती गरौ बाँदरले खाइदिन्छ । बालुवा निकालांै दिनदिनै भाउ घट्दै छ । हामीले किन्ने सामानको भाउ दिनदिनै बढेको छ ।
पानीमा डुबेर बालुवा निकाल्ने मजदुरको संख्या घट्दो

असारदेखि असोजसम्म त्रिशूली नदी र आसपासका खोलानालामा पानीमा डुबेर बालुवा निकाल्नेको भीड नै लाग्थ्यो । यतिसम्म कि आफूले निकालेको बालुवाको थुप्रो चिन्ह कुरुवा वा कुनै संकेत राख्नु पर्र्ने हुन्थ्यो ।
४ साउन २०५० सालमा आएको बाढीपछि आग्राखोला र बेल्खुखोला त्रिशूली दोभान विपन्न मानिसको रोजगार केन्द्र बन्यो । आग्राखोला ढुंगा गिटीका लागि र बेल्खुखोला, त्रिशूली दोभान बालुवाका लागि । ती ठाँउमा बालुवा निकाल्न पूर्व–पश्चिमका युवाको रोजगार केन्द्र नै बन्यो । २६ भन्दा बढी जिल्लाका मानिसले १०औं वर्ष निरन्तर काम गरिरहे । त्यतिबेला एउटा एसी ट्रकमा डालाभन्दा निकै माथिसम्म बालुवा लोड गरेपछि बालुवा निकाल्नेले एक हजार रुपैयाँ पाँउथे । खाना खाएर दुई तीन सय बचत हुन्थ्यो । विस्तारै बालुवाको भाउ बढ्दै गयो क्रमश: मजदुरको संख्या पनि घट्दै गयो । अझ कमाइ बढ्दै गएकोमा मजदुरहरू खुसी हुँदै गए । बालुवा व्यापार गर्नेहरू अझ फस्टाए । पैदल हिँड्ने मोटर साइकल चढ्ने भए । विस्तारै उनीहरूको व्यापार अझ बढ्न थाल्यो । घरपक्की बनाए । एसी जडित गाडी चड्न थाले । काठमाडौंमा घर बनाए । घरमा एसी राख्न थाले । छोराछोरी महँंगो निजी स्कुलमा पढाउन थाले । हामीजस्ता कयौ मजदुर साथी त्रिशूलीमा बगे । हामी मजदुरलाई छाक टार्नै मुस्किल छ लामो समयदेखि त्रिशूलीको पानीमा डुबुल्की मार्दै बालुवा निकालेर जीविकोपार्जन गर्र्नेहरू तीतो यथार्थ बताउँछन् ।
बालुवा व्यापारलाई नै मुख्य व्यवसाय बनाएकाहरूले २०६२/०६३ को जनआन्दोलनपछि केही वर्ष त्रिशूली नदी र आसपासका खोला बेल्खु र कोल्पुखोलामा स्काभेटर प्रयोग गरेर रातरात अझ धनी बने । दैनिक गुजाराका लागि मजदुरी गर्नेको पक्षमा उभिएका अधिकारवादी संघसंस्था र पत्रकारको निरन्तर खबरदारीले मेसेनरी औजार पानीमा प्रयोग गर्न नपाउने भयो । त्यसपछि फेरि मजदुरहरूलाई केही राहत मिल्यो । बालुवा निकाल्न सहज भयो । यतिबेलासम्म मजदुरहरूले प्रतिटिप बालुको नौ हजार पाँउथे । मजदुरहरूको दैनिक कमाई दुई हजार पाँच सयसम्म हुन्थ्यो । त्यसपछि डिस्को, खेतबारी खनेर माटो धोएर बालुवा बनाएर बेच्ने काम सुरु भयो । बालुवाको मूल्य व्यापारीहरूले मजदुरसँग मोलमोलाई गर्दै क्रमिक रूपमा बालुवाको मूल्य घटाएर किन्न थाले । अहिले एक टिप बालुवाको मजदुरले पाँच हजार पाँच सय पाउँछन् । बाटो दिएको र बालुवा राख्न दिएको भनेर जग्गावालाहरूले प्रतिटिप एक हजार रुपैयाँ लिने गरको मजदुरहरू बताउँछन् ।
विगत २२ वर्षदेखि त्रिशूलीको पानीमा डुबेर बालुवा निकाल्दै आएका रामशरण सुवेदीलाई गजुरी गाँउपालिका–६ स्थित पोखरेखोलामा बालुवा निकाल्दै गर्दा भेटेर कुरा गर्दा अहिले त दिनको खर्च धान्न मुस्किल भएको बताए । आफूले पहिला पहिला तीन महिना बालुवा निकालेर वर्षभरिकै खर्च पुर्याएको सम्झँदै सुवेदी भन्छन्, “अहिले कमाई छैन । मैले बालुवा निकाल्न सुरु गर्दाका मानिस कहाँ पुगे होला । कति त त्रिशूलीकै पानीमा पनि बगे । कयौ युवा विदेशीए । अहिले त त्रिशूली पनि एक्लो महसुस गर्दो हो जस्तो लाग्छ ।” सुवेदीलाई श्रीमती मायाले पनि विगत १० वर्षदेखि त्रिशूलीमा डुबेर बालुवा निकाल्न साथ दिइरहेकी छन । सुवेदीका छोरा १२ कक्षा र छोरी नौ कक्षा पढ्दैछिन् । अहिले दैनिक खर्च पुर्याउन मुस्किल छ । खेती गरौ बाँदरले खाइदिन्छ । बालुवा निकालांै दिनदिनै भाउ घट्दै छ । हामीले किन्ने सामानको भाउ दिनदिनै बढेको छ । आफूले चिरौदी दोभान, बेल्खु दोभान, जरे दोभान र पाखेरे दोभानमा बालुवा निकालेको बताए । पानीमा स्काभेटर डोजर प्रयोग नगरे सुरक्षित नै हुन्छ । पानीको सतह बढेको थाहा हुन्छ । अहिलेसम्म पानी बढेका कारण कसैलाई बगाएको छैन सुवेदीले भने ।
उदयपुर जिल्ला बेलका नगरपालिका–७ का रणबहादुर राई पनि ढेड महिनादेखि बालुवा निकाल्दै आएका छन् । अहिलेसम्मको हिसाब गर्दा खाएर दिनको छ सय बचत भएको बताउँछन् । उनी विगत पाँच वर्षदेखि यहीं बालुवा निकाल्दै आएका छन् । विजयबहादुर राई पनि १७ वर्षको उमेरदेखि बालुवा निकाल्दै आएका छन् । खान पुर्याउन धौधौ भएको सुनाउँछन् उनी ।
खोलामा बालुवा आए र काम गर्न सके दिनकै १५/१६ सय कमाई हुने सर्लाहीका दिनेश पहारी बताउँछन् । उनी पनि विगत पाँच वर्षदेखि कोल्पु दोभानका बालुवा निकाल्दै आएका छन् । घरमा एक छोरा र छोरी छोडेर नौ वर्षीय छोरा साथमा लिएर बालुवा निकालेर घर खर्च चलाउने सपना बोकेर सर्लाही जिल्ला बागमती नगरपालिकाबाट आएकी कान्छी घले पनि अहिले बालुवा निकालेर खान नपुगेको बताउँछिन् । छोराछोरीले दिनकै फोन गर्छन् रासन सकियो भनेर, के पठाउनु घर जान पनि खर्च नहुने जस्तो भयो उनी भन्छिन् । बालुवा निकाल्न सके टिपको पाँच हजार पाँच सय त आउँछ । तर हामीले त्यति निकाल्न पनि सक्दैनौ । बेच्न पनि नयाँ छौं गाह्रो छ ।
कोल्पुखोला दोभानमा केही वर्ष अघिसम्म चार/पाँच सयले बालुवा निकाल्थे । यस वर्ष दुई सयको हाराहारीमा छौं भन्छन् राज खतिवडा । खतिवडा विगत पाँच वर्षदेखि मौसमी रूपमा यहाँ बालुवा निकाल्दै आएका छन् । हरेक वर्ष कमाई घट्दै गएको उनी बताउँछन् ।