सरकारले राम्रो काम गर्दा प्रमुख प्रतिपक्ष दलले साथ नदिएको गुनासो

सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गरेका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहेका सांसद देवले निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुनु, नागरिकतासम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भएपनि एमालेले साथ नदिएको बताएका हुन् ।
उनले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढन पनि पटकपटक आग्रह गरे । लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्नु भयो । उनले भने, ‘सरकारले ३/४ वटा युगान्तकारी कामहरू गरेको छ । शान्तिपूर्ण तरिकाले स्वतन्त्र ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अव मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गईराखेको छ । यही सदनले महिला हिंसा विरुद्धको ऐन संशोधन भएको छ । यही सदनले नागरिकतासम्बन्धी ऐनलाई सशोधन गरेको छ । यो युगान्तकारी, ऐतिहासिक कामहरू सरकारले गरेको छ । यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरूले के भन्नु हुन्छ ? यो पनि ठीक गरेन ? यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौं ? जवकि पार्लियामेन्ट्री डेमोक्रेसीमा प्रतिक्ष भनेको रचनात्मक प्रतिपक्षको भूमिका हुन्छ । र, हुनुपर्छ । प्रतिपक्ष भनेको डेमोक्रेसीको सुन्दरता हो । तर त्यो रचनात्मक विपक्ष हुनुपर्छ । तर, अत्यन्त नकारवादको शिकार प्रमुख प्रतिपक्ष भईराखेको छ । म चाहन्छु–सम्माननीय अध्यक्ष महोदयमार्फत् सकारात्मक सोच लिएर आउनुस् । अनाआवश्यक ढंगले तिथ्रोको मुखै बैरी सुन्नै पनि कान थुन्नुपर्ने शब्दहरूको प्रयोग गरेर, विषयहरू उठाएर यस्तो हामी अमिलो राजनीतिक वातावरण, तितो राजनीतिक वातावरण हामी नबनाऔं । किनभने अहिले पनि नेपाल अगाडि यस्ता एजेन्डाहरू छन, हाम्रो देशको अगाडि, पिपुलको अगाडि । जसमा नेपालका मेजर पोलिटिकल फोर्सहरू एक भएर जानुपर्ने स्थिति छ । यस्तो बेलामा एउटा नयाँ ढंगको पोलिटिकल कल्चर हामीले विकास गरौं भन्ने पहिलो म चाँही अनुरोध गर्न चाहन्छु ।’
सांसद देवले मुख्य राजनीतिक दलहरू अझै पनि एकतावद्ध भएर अघि बढनुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोपसमेत लगाए ।