नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई कारवाही गर्ने चेतावनी «

नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई कारवाही गर्ने चेतावनी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिए । उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भइरहेकाले बिस्तारै ठिक लगाउने बताए ।
मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरुलाई सरकारले नछोड्ने बताए । उनले सरकारकाले कुनैपनि नेताको नजिकको ठेकदार भएपनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताए । अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको भन्दै मन्त्री राईले मन्त्रिपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।
मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको बताए । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भइरहेको दाबी गरे । मन्त्री राईले कही कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाईका साथ कार्यान्वयन गर्न तयार रहेको बताए । उनले वैज्ञानिक भाडादर सरकार, निजी क्षेत्र र विज्ञहरु राखेर लागू गरिएको बताए ।
नेकपा एमालेकी सांसद विद्या भट्टराईले विकास निर्माणमा तहगत समन्वयको अभाव रहेको बताइन् । उनले तीनै तहमा आफ्नो क्षेत्राधिकार छैन भनेर पन्छिन संघीयताले सजिलो भएको बताइन् । भट्टराईले संघीयताले जिम्मेवार बनाउनुपर्ने तर गैरजिम्मेवार बन्नको लागि संघीयताले ठाउँ दिएको आरोप लगाइन् । उनले सार्वजानिक सवारी साधनको भाडादर स्वचालित नभएर स्वछन्द भएको टिप्पणी गरिन् ।
बैठकमा अधिकांश सांसदहरुले विकास निर्माणको काममा तीनै तहले समन्वय गरेर काम नभएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्