सबैभन्दा बढी आत्महत्या गर्ने जिल्ला झापा «

सबैभन्दा बढी आत्महत्या गर्ने जिल्ला झापा

प्रदेश–१ मा हरेक दिन चार जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।
१ नम्बर प्रदेश प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांक केलाउँदा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिन्छ । आत्महत्या गर्ने कम उमेरका र सामान्य परिवारका व्यक्ति बढी देखिन्छन् । १४ जिल्ला रहेको प्रदेश १ मा आव ०७६/०७७ देखि ०७८/०७९ को तीन वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ६३ रहेको छ । यो तथ्यांकलाई केलाउने हो भने तीन वर्षमा दैनिक आत्महत्या गर्नेको संख्या प्रदेश १ मा ४ जना आउने गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ०७६/०७७ मा १ हजार ३४७, ०७७/०७८ मा १ हजार ५१६ जना, ०७८/०७९ मा १ हजार ५०० जनाले आत्महत्या गरेका गरेका छन् ।
गएको आवमा आत्महत्याको संख्यामा सामान्य कमी आए पनि त्यसअघिका दुई वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्षमा ०७८/०७९ मा हरेक दिन करिब ४ जनाभन्दा बढीले आत्महत्या गर्ने गरेको देखिन्छ । आर्थिक वर्षमा प्रदेश–१ को सबैभन्दा बढी आत्महत्या झापामा भएको छ । झापामा ३३४ र कम तेह्रथुम जिल्लामा भएको प्रहरीको अभिलेखमा देखिन्छ । तेह्रथमुमा आर्थिक वर्षमा २३ जनाले आत्महत्या गरेका छन् । झापापछि दोस्रोमा मोरङमा बढी आत्महत्या भएको पाइएको छ । मोरङमा ३१४, सुनसरीमा २०३, इलाममा १२८, उदयपुर ८४, धनकुटा ४९, पाँचथर ५७, ताप्लजुङ्ग ३५, संखुवासभा ४४, भोजपुरमा ५१, खोटाङमा ६७, ओखलढुङमा ५४ र सोलुखुम्बुमा ४७ जनाले आत्महत्या गरेका छन् ।
घटनाको सूक्ष्म अध्ययन गरेको प्रहरीले सामान्य परिवारका किशोर–किशोरी र युवाको संख्या बढी रहेको बताएको छ । मनोचिकित्सक डा. प्रभात चौरसियाले आत्महत्यालाई मेडिकल इमरजेन्सीको अवस्था हो भन्दै खुलेर सोधखोज र प्रश्न गर्ने बानीको विकास गर्नुपर्ने उपाय सुझाउँछन् । सबै वर्ग, तह, समुदाय, लिङ्ग र उमेर समूहका मानिसहरूले आत्महत्या गर्ने क्रम बढ्दो पाइएकोले सबै सरोकारवाला मिलेर रोकथामका लागि सामूहिक पहल थाल्नुपर्ने उनको सुझाव छ । डा. चौरसियाका अनुसार आत्महत्या रोकथामका लागि पहिले अवस्था विश्लेषण गरेर गलत धारण हटाउन सरोकारवालाबीच सहकार्य हुनुपर्ने र आवश्यक दक्ष जनशक्ति उत्पादनमा लगानी गर्नुपर्छ । आत्महत्या दिनानुदिन बढ्दै गएको र यो सामाजिक अपराधका रुपमा जटिल समस्या बनेर देखा परेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्