पर्यटकको लापरवाहीले दुर्घटना स्थल बन्दै नुनथर «

पर्यटकको लापरवाहीले दुर्घटना स्थल बन्दै नुनथर

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकका लागि जोखिमपूर्ण गन्तव्य बनेको छ ।
चन्द्रपुर नगरपालिका–१ मा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकहरुले सावधानी नअपनाउँदा र स्थानीय प्रशासनले आवश्यक ध्यान नदिँदा जोखिमपूर्ण बनेको हो । यहाँ वर्षेनि ६/७ जना पर्यटकहरुको ज्यान गइरहेको स्थानीयको भनाइ छ । पर्यटकहरु सचेत नभइदिँदा र स्थानीय प्रशासनसले दुर्घटनाबाट बच्नका लागि आवश्यक कदम चाल्न नसक्दा दु:खद् घटनाको समाचार धेरै बन्ने गरेको स्थानीयको गुनासो छ ।
१८ र ३१ असारमा नुहाउन नदी पसेका तीन जना पर्यटकको ज्यान गयो । गर्मीको समयमा मेला लाग्ने र वनभोजलगायतको गन्तव्यस्थल बन्ने गरेपनि नदीको गहिराई र जोखिमको ख्याल नगरी पौडी खेल्न पस्दा पर्यटकको ज्यान जाने गरेको स्थानीयको भनाइ छ । नुनथर मधेस प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्छ । धेरै अगाडि यस क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकोले गाईवस्तुहरु यस क्षेत्रमा चर्न जाँदा वागमतीको पानी पिइसकेपछि त्यहाँको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम नुनथर रहन गएको किंवदन्ती पनि रहेको छ ।
नुनथरमा वर्षको बाह्रै महिना आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गरेको पाइन्छ । रौतहट, मकवानपुर, सर्लाही र सिन्धुली गरी ४ वटा जिल्लासँग सीमाना जोडिएको प्राकृतिक छटाले भरिपूर्ण यस क्षेत्रमा नेपाल मात्र नभएर भारतका विभिन्न स्थानहरुबाट पर्यटकहरु घुम्न तथा पिकनिक खान आउने गर्छन् । नुनथर क्षेत्रमा साउनको महिनाभर विभिन्न नेपाल तथा भारतका विभिन्न स्थानबाट बोलबम यात्रामा आउने हिन्दु भक्तजनको घुँइचोसमेत लाग्ने गर्छ । सो स्थानमा वागमती नदीस्थिर देखिएपनि गहिरो र भुमरीयुक्त भएकाले अचानक डुब्ने गरेको स्थानीय सुरेन्द्र सापकोटाले बताए । उनले यसरी वर्षेनि सरदर ५–६ जना नुनथर घुम्न आउनेहरु बागमती नदीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुने गरेको बताए ।
तीर्थयात्रा र पर्यटन गर्न आएकाहरु बागमती नदीमा पौडी खेल्न, नुहाउन जाने गरेकाले नदीमा डुबेर बेपत्ता हुने जोखिम उच्च रहेको स्थानीय लक्ष्मण न्यौपाने बताउँछन् । उनले नुनथर क्षेत्र विकास समिति मातहत रहेको सो नुनथर क्षेत्रका मानिसलाई डुब्नबाट जोगाउन समितिले विशेष पहल गर्नुपर्ने बताए ।
धेरै मानिस डुबेर बेपत्ता तथा मृत्यु भएपछि नदी किनारको ठूलो ढुंगामा ‘खतरा’ लेखिएपनि पर्यटकले त्यसको बेवास्ता गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । उनले सो संकेतलाई बेवास्ता गर्दै नदीमा पर्यटकहरु पौडी खेल्न जाने गरेकाले धेरै दुर्घटना निम्तिएको बताए । उनले स्थानीय प्रशासनले पनि बारम्बार बागमती नदीमा पौडी नखेल्न अनुरोध गरेपनि त्यसलाई तीर्थयात्री र पर्यटकहरुले नै बेवास्ता गर्ने गरेको देखिएको बताए ।
पर्यटक रमाइलोको लागि नुनथर घुम्न आउँछन् । तर पौडी खेल्ने क्रममा बागमती नदीमा हुने दु:खद् घटनाले सबैको मन खल्लो बनाइदिने गरेको छ । नदीमा पौडी खेल्न जानुअघि पर्यटकहरु पनिसचेत हुनुपर्ने प्रशासनको भनाइ छ । यसरी वर्षेनि बागमती नदीमा डुबेर आगन्तुकको मृत्यु हुने क्रम रोक्न नुनथर विकास समिति, चन्द्रपुर नगरपालिका र स्थनीय प्रशासनले विशेष कदम चाल्न आवश्यक भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्