‘सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छ’

नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरु जनताको बिरुद्धमा गएको आरोप लगाएका छन् ।
शुक्रवार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए । उनले राजनीतिक पार्टीहरु चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए । अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको बताए । उनले चुनावलाई कसरी लैजाने ? देशमा ती पार्टीहरुको बहुमत आयो भने सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने ? देशको निम्ति गर्ने त्यो, स्पष्ट भाषामा आउन जरुरी रहेको बताए । उनले अहिलेका कम्युनिष्ट पार्टीहरु जनताको अभिमतलाई कुल्चिएर, जनताको आदेशलाई उल्लंघन गरेर कहिले कांग्रेससँग र कहिले राप्रपासँग मिल्ने गरेको भन्दै यो सिद्धान्त विपरितको कुरा भएको बताए ।
उनले भने, ‘हाम्रा राजनीतिक पार्टीहरुलाई के भन्छु भने चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक छ । यो चुनावलाई कसरी लेजाने ? देशमा ती पार्टीहरुको बहुमत आयो भने सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने ? देशको निम्ति गर्ने त्यो, स्पष्ट भाषामा आउनुपर्छ । अर्को कुरा घोषणापत्रमा एउटा लेखेर आफ्नो सरकार नयाँ आएपछि ठ्याक्कै नमिल्ने, वामपन्थीहरु तोड्न दक्षिणपन्थीसँगको सरकार बनाउन पाउँदैन । सिद्धान्तले दिँदैन । घोषणापत्र भन्दा बाहिर जानु हुँदैन । त्यसको मुख्य कारण के हो भने जनताले हामीलाई मत दिनु भनेको हाम्रो घोषणापत्र ठिक छ, यो अनुसार काम गर भनेको हो । त्यो जनताको आदेश हो । जनताको आदेशलाई उल्लंघन गरेर यी राजनीतिक पार्टीहरुले काँग्रेससँग पनि मिल्ने, राप्रपासँग पनि मिल्ने, जुनसँग पनि मिल्ने यो सिद्धान्त दुषित कुरा हो । यसले देशलाई अघि लैजाँदैन । यो गलत हो । त्यसकारण घोषणापत्र पहिला बनाएर त्यही आधारमा चुनाव लड्नुपर्छ । जनताले मत दिएपछि घोषणापत्र अनुसार काम गर्नुपर्छ ।”
अध्यक्ष बिजुक्छेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै सत्ता सञ्चालनको कुरा दिल्लीमा नभइ जनताको बीचमा हुनुपर्ने बताए ।