६ जना सचिवको सरुवा «

६ जना सचिवको सरुवा

सरकारले ६ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवहरुको सरुवा गरेको हो ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।
बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन् । लुम्बिनी प्रदेशको प्रमुख सचिव डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यसैगरी सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
उनीमाथि कर्मचारीमाथि दुव्र्यवहार गरेको लगायत आरोप लागेको थियो । उनलाई गत जेठ २६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । ट्विनअटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको, साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्‍याएको, सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको, जसमा अध्यक्ष आफैंले लाभ लिएको, निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको, पदअनुसारको आचरण नदेखाएको लगायत विषयमा उनलाई स्पष्टीकरण सोधिएको थियो ।

प्रतिक्रिया दिनुहोस्