पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो संकेत गरेका हुन् । उनले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहे पनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताए । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गरे ।
उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए । उनले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताए ।
अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने उद्घोष गरे । उनले शुक्रवार पाँच दलीय गठबन्धनको तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिष्पर्धा गर्ने कुराको घोषणा हुने बताए । उनले अब तेस्रो शक्ति बनाउन पार्टीहरु एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी एक ठाउँमा हनुपर्ने आवश्यक्ता भएको बताए ।
अध्यक्ष नेपालले नेपाली कांग्रेसमा हामी नै सबैथोक हौँ परेको आशंका व्यक्त गर्दै अरु पार्टी पनि मैदानमा छन् भन्ने सोच्न जरुरी रहेको बताए । उनले नेकपा एमालेप्रति इंगित गर्दै आफू सर्वेसर्वा हुँ भनिरहेको र यही प्रवृतिले देश बिगारिरहेको उल्लेख गरे ।