प्रदुषित पानी उत्पादक १४ उद्योगलाई कारबाहीको तयारी «

प्रदुषित पानी उत्पादक १४ उद्योगलाई कारबाहीको तयारी

सरकारले प्रदुषित पानी उत्पादन गर्ने १४ वटा पानी उद्योगसहित १ सय १५ वटा उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ ।
गुणस्तरहीन पानी तथा खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै उनीहरु विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर भएको हो । पानी तथा खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने कम्पनीलाई कारबाही गर्ने तयारी भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा बजार अनुगमन गरी संकलन गरिएका नमुना परीक्षणबाट दोषी देखिएका उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ । दायर गरिएका मुद्दामध्ये खाद्यान्न तथा दलहन तथा सोबाट बनेका पदार्थसम्बन्धी सबैभन्दा धेरै ३० वटा रहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।
विभागका अनुसार अनुसार दूध तथा दुग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चिया तथा कफीका ८ वटा मुद्दा दायर गरिएको छ । झौखेल उच्च बेभेरेज प्रालि, चाँगनुारायण–२, भक्तपरको जारमा किरा देखिएको गुनासो आएपछि विभागको टोलीले अनगुमन गर्दा किरा भेटिएको थियो । सो क्रममा विभागको टोलीले १४ जार नष्ट गरेको छ । भक्तपुर नेचुरल ड्रिङकिङ वाटर प्रालिको पनि प्रयोग भइरहेको अवस्थाका २३ वटा पानीका जार नष्ट गरिएको विभागले जनाएको छ । यी लगायतका अन्य पानी उद्योगका पुराना जारहरु नष्ट गरिएको विभागले बताएको छ ।

दूध पनि दुषित
विभागले नमुना संकलन गरी परीक्षण गर्दा प्रशोधित पानीका अलावा दूध पनि पिउन अयोग्य रहेको पाइएको छ । विभागले गत आर्थिक वर्षमा बजार अनुगमन गरी ४ हजार ६ सय ६० वटा नमुना संकलन गरी परीक्षण गर्दा दूध तथा दुग्ध पदार्थका १५ वटा, तेल तथा घिउजन्यका १४ वटा नमुना गुणस्तरहीन पाइएको जनाएको छ ।
प्रवक्ता महर्जनले परीक्षणबाट फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमुना प्रतिकुल देखिएको बताए । उनले खाद्यान्न र दलहनजन्य ५३ वटा, दाना पदार्थका १७ वटा, चिया कफीका १३ वटा, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्य १ र अन्यको ११ वटा गरी जम्मा २ सय २४ वटा नमुना प्रतिकुल रहेको बताए । विभागले संकलन गरेको ४ हजार ६ सय ६० वटा नमुनामध्ये ५.४२ प्रतिशत मापदण्ड विपरित पाइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्