अन्तिम पटक प्रधानमन्त्री हुने प्रचण्डको इच्छा

नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुन: एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुन: एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।
उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताए । उनले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना बुनेको बताए ।
अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो जनीतिक शक्ति बन्ने दाबी गरे । उनले दोस्रो शक्ति बनाउने गरी नेपाली काँग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी दिए । अध्यक्ष दाहालले नेत्रविक्रम चन्द, मोहन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई माओवादी नभएको दाबी गरे । उनले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओवादी माओवादी केन्द्र मात्रै रहेको जिकिर गरे ।
अध्यक्ष दाहालले भने, “आउने प्रदेश र संघको निर्वाचनमा स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर हामी तालमेल गर्दा पनि हामी पहिलो हुने हो । मैले नेपाली कांग्रेसका नेताहरुलाई भनेको छु । अहिले पहिलो पार्टी त तपाईंहरु नै हुने देखियो तर माओवादी दोस्रो हुनुपर्छ । त्यसमा सहयोग गर्ने हो भने सबै सहयोग हुन्छ नत्र हुँदैन भनेको छु । यसमा हाम्रो नेतृत्व तहमा राम्रो समझदारी छ । यो पटक स्थानीय चुनावको जस्तो हुन दिइँदैन । त्यसले हामीलाई अघि जान धेरै ठूलो मद्दत गर्नेछ । त्यसरी जाँदा हाम्रो हातमा एकपटक बागडोर आउँछ । हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनु छ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस् ।”
अध्यक्ष दाहालले माओवादीले किसान लक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको बताए । उनले किसानलक्षित बजेट ल्याएका कारण प्रतिक्रियावादीहरु, बुर्जुवाहरु र दलालहरु आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको बताए । अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको दाबी गरे । उनले माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको बताए । अध्यक्ष दाहालले देश विकास गर्ने कुरा माओवादी बिना सम्भव नरहेको उल्लेख गर्दै आउने तीन महिना माओवादीका लागि चुनौतीपूर्ण रहेको बताए । उनले देशको राजनीतिक मानचित्र बदल्न सक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले समाज भत्काउने प्रतिगमनकारीहरुले राजनीतिमा बूढापाकाहरु चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताए । उनले अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने उद्घोष गरे । उनले आगामी प्रदेश र संघको निर्वाचनमा मान्छे हेरिहेरि टिकट बाँड्न पाइने भएकोले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको उल्लेख गरे ।