रुपातालमाथि झोलुंगे पुल निर्माण

कास्कीको पर्यटकीयस्थल रुपाताल माथि झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । पर्यटनकीय दृष्टिकोणले तथा पोखरा र रुपा गाउँपालिका जोड्ने उक्त झोलुंगे पुल निर्माणले आफूहरूलाई धेरै फाइदा भएको पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बताए ।
२ सय ६९ मिटर लामो झोलुंगे पुल निर्माण भएसँगै पोखरा महानगरपालिका–३१ र कास्कीको रुपा गाउँपालिका–६ को जनजीवन सहज हुने उनले जनाए । उक्त पुलसँगै पर्यटक बढ्ने र यसले व्यवसाय बढाउनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुने स्थानीय ढुक्क छन् । सम्भवत नेपालमा नै तालमाथिको पहिलो झोलुंगे पुल भएकाले पर्यटकको आकर्षकको रूपमा रहने उनले जनाए ।
पुल निर्माणसँगै पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । पुल निर्माण भए लगतैदेखि उद्घाटन नहुँदासम्म दैनिक जसो सयौंको संख्यामा आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेको स्थानीयले जनाए । भंगारा–पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको सो पुल गण्डकी प्रदेश सरकारको एक करोड ३६ लाख ९६ हजार ७ सय ३० रुपैयाँ लागतमा बनेको हो । पुलको लम्बाइ २ सय ६९ र चौडाइ एक मिटर छ । पुलको क्षमता प्रतिमिटर ३ सय १८ केजी रहेको पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर हरि थापाले बताए । पूर्वाधार विकास कार्यालय कास्कीले हेरेको सो पुलको निर्माण एम/एस तेज जगदम्बा रुजान जेभी कम्पनीले गरेको हो । कोभिड महामारीका कारण तोकिएको समयभन्दा झण्डै तीन वर्षपछि पुल निर्माण सम्पन्न भएको हो ।
यसैबीच, सिमलटुँडामा हालै निर्माण भएको उक्त झोलुंगे पुलको एक समारोहका बीच गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले उद्घाटन गर्दै सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सभापति कोइरालाले पुल विकास र समृद्धिको वाहक बनेर आएको बताए । पचभैया, सिमलटुँडालगायतका क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन उक्त पुल कोषेढुंगा सावित हुने बताए । संघीय व्यवस्था भएकै कारण पुल बन्न सहयोग पुगेको उनको भनाइ छ । प्रदेश सरकार भएकैले सम्भव भएको संयोजक कोइरालाले बताए ।