Logo

झुटो कुरालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गरियो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा कांग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताएका छन् ।
शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्ने कुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताए । उनले सो कुरामा कुनै सत्यता नरहेको भन्दै यो हुने नसक्ने कुरालाई प्रचार गरिएको दाबी गरे ।
अध्यक्ष दाहालले झुटो कुरालाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गरिएको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुको कारण कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने विषयलाई लिएर नरहेको स्पष्ट पारे । उनले तथ्यहीन र षड्यन्त्रमूलक प्रचारबाजीबाट सबै सतर्क हुन आवश्यक रहेको पनि बताए । अध्यक्ष दाहालले तत्कालीन सत्ता गठबन्धन चुनावसम्म रहनेमा शंका नगर्न आग्रह गरे ।
अध्यक्ष दाहालले नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताए । उनले अहिले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको बताए । अध्यक्ष दाहालले चुनावी वामपन्थी मोर्चा बनाउने कुरामा चाँडै निष्कर्षमा पुग्ने घोषणा गरे ।
अध्यक्ष दाहालले वामपन्थी एकता लगायतको विषयमा गठबन्धनभित्र रहेका दलहरुसँग समेत छलफल भइरहेको बताए । दाहालले दिल्लीमा काग्रेस नेतृ आरजु देउवा र आफूबिचमा कुनै पनि प्रकारको सम्झौता नभएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्