सामाजिक सुरक्षा कोष र एनआरएनए बीच सम्झौता «

सामाजिक सुरक्षा कोष र एनआरएनए बीच सम्झौता

वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन गैरआवासिय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ ।
नेपालबाट वैदेशिक रोजगारमा जाने नेपालीको संख्या दिनहुँ बढ्दै गइरहेको जनाउँदै उनीलाई क्रमस सामाजिक सुरक्षा योजनामा ल्याउन २ संस्थाबीच सम्झौता भएको हो । करिब ४६ लाख नेपालीहरु खाडी मुलुक, मलेसिया, कोरिया र जापानलगायत विश्वभर कार्यरत रहेको र वर्षेनि करिब चार लाख संख्याको हाराहारीमा देशका युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजागर विभागको तथ्यांकमा उल्लेख छ । सम्झौतामा भूमण्डलीकरणको उच्चतम अभ्यासमा रहेको आजको विश्वमा सेवा र सुविधामा राष्ट्रियताको आधारमा विना भेदभाव श्रमको परिचालन गर्नुपर्ने विश्व श्रम संगठनको अभिसन्धिको व्यवस्था अनुसार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा आवद्ध गराउन सकिने विश्वास लिइएको उल्लेख छ ।
आर्थिक वर्ष २०७९/०८० को बजेटको बुँदा नं. १३६ र १९० को व्यवस्था अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, श्रमिक गन्तब्य देशसँग पारस्परिक सम्झौता सम्बन्धमा नीतिगत आधार तयार गर्न सहयोग गर्ने र त्यस्तो दायरामा भित्र नपर्ने श्रमिक वा कोषमा आवद्ध हुन चाहने श्रमिकलाई तोकिएको योगदानमार्फत कोषमा आबद्ध गराउने उल्लेख छ । एनआरएनएको सातौं विश्व सम्मेलनमा घोषणा भए अनुसार हजारे अभियानमार्फत वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्न कोषसँग सहकार्यमार्फत गरिने अध्ययन अनुसन्धान लगायत अन्य क्रियाकलापमा कोष र संघबीच आपसी सहकार्य गर्नु गराउनु समझदारी गरिएको उल्लेख छ ।
सम्झौतामा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा आवद्ध गराउने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदल, अध्ययन समूह वा समिति उपसमितिमा संघका प्रतिनिधिसमेत समावेश गराई संयुक्त रुपमा अध्ययन गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।
एनआरएनएले वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीको सामाजिक सुरक्षा सम्बन्धी विषयमा गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरीय गोष्ठी, अन्तक्रिया, छलफल तथा अन्य कार्यक्रमहरुमा कोषलाई सहभागी गराउनेछ र कोषमार्फत गराउन सकिने विषयको बजारीकरण गर्ने व्यवस्था मिलाउने छ । संघले गर्ने वैदेशिक रोजगारमा रहेका श्रमिकको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रममा कोषले सो सम्बन्धी सूचना तथा जानकारीहरू आवश्यकताअनुसार उपलब्ध गराउनेछ र सो विषयमा प्रस्तुतीकरण समेत गर्ने जनाइएको छ ।
वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको योगदान रकम कोषमा ल्याउने प्रकृया सरलिकृत गर्न संघ र संघ अन्तर्गतका अन्य निकायबाट कोषले आवश्यकता अनुसार सहयोग प्राप्त गर्ने छ । समझदारीपत्र कार्यान्वयनका लागि कोष र संघबाट आफू अधिनस्थ सम्बन्धित सबै निकायलाई जानकारी गराई कार्यान्वयनको व्यवस्था मिलाइने जनाइएको छ ।
वैदेशिक रोजगारीमा रही सामाजिक सुरक्षा कोषको दायरामा रहेका श्रमिकको विदेशमा रहँदा वा स्वदेश फिर्ती पछिको जीवनलाई सुरक्षित र व्यवस्थित बनाउने गरी आर्जित सीपलाई उपयोग गर्दै उद्दमशिलता प्रवद्र्धन र थप रोजगारी सृजना गर्दै अर्थतन्त्रमा योगदान पुर्‍याउने लक्ष्य रहेको सम्झौता उल्लेख गरिएको छ । उनीहरुको जीवन चक्रमा आइपर्ने जोखिम व्यवस्थापनका लागि अध्ययन अनुसन्धान गरी योजनाहरु विकास गर्ने, समझदारीपत्र कार्यान्वयनको सिलसिलामा कुनै पक्षलाई द्विविधा भएमा एक आपसमा छलफल गरी द्विविधा निराकण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्