Logo

लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न आवश्यक

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको बताए । उनले नागरिकमा सूचना फैलाउने काम पत्रकारिता क्षेत्रले गरिरहेपछि मिथ्या सूचनाको जोखिम बढिरहेकाले संवेदनशील, उत्तरदायी भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताए । प्रधानमन्त्री देउवाले प्रमाणमा आधारित सत्यतथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको आवश्यक्ता रहेको बताए ।
उनले भने, ‘आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको छ । प्रविधिको विकासले सूचनालाई सहज, छिटो र छरितो बनाउने काम गरेको छ, भने अर्कोतिर मिथ्या भ्रामक सूचनाहरू फैलिनसक्ने चुनौती पनि त्यत्तिकै छ । पत्रकारिता क्षेत्र हिजोभन्दा आज झन् संवेदनशील, उत्तरदायी हुन आवश्यक छ । नागरिकलाई सूचना दिने कुरामा प्रमाणमा आधारित सत्यतथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन अझ बढी उत्तरदायी भूमिका खेल्नुपर्ने आवश्यक्ता छ । पत्रकारिताको संस्थागत विकास आजको आवश्यक्ता हो । स्वच्छ पत्रकारिताको प्रवद्र्धनका निम्ति प्रेस युनियन सक्रिय हुनुपर्छ ।’
प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूले कसैको प्रलोभन, भय र दबाबमा नआई निष्पक्ष ढंगबाट पत्रकारिता गर्नपनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्