कुमार थापा साफ महिला टोलीको प्रशिक्षकमा नियुक्त

सहिद स्मारक ए डिभिजन लिग क्लब एपीएफका प्रशिक्षक कुमार थापालाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपका लागि एन्फाले शुक्रबार महिला टिमको प्रशिक्षकमा थापालाई नियुक्त गरेको हो । शुक्रबार जिम्मेवारी पाएका थापाले यसअघि पनि महिला टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । महिला फुटबल संघकी पूर्वअध्यक्ष बिन्द्रा देवानलाई टिम व्यवस्थापक जिम्मेवारी दिइएको एन्फा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनसिपका लागि उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरूलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । यस्तै स्थान व्यवस्थापकमा रवीन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र प्रतियोगिता सुरक्षा प्रमुखका रूपमा दिनेश व्यञ्जनकारलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सञ्जीव सिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार दिइएको छ ।
यसअघि १९औं एसियाली खेलकुदका लागि भने बालगोपाल महर्जनले पहिलो चरणको बन्द प्रशिक्षणमा टोली सम्हालेका थिए । राष्ट्रिय खेलकुद परिषद्को मातहतमा भएको प्रशिक्षणमा महर्जनले महिला टोली सम्हालेका थिए ।
नेपालमा तय भएको प्रतियोगिता पूर्वघोषित मितिभन्दा एक सातापछि धकेलिएको छ । यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र फिफाबाट प्रतिबन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा भएको प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदा उपविजेता बनेको थियो ।