श्वेतगंगा हाइड्रोपावरको आईपीओ बिक्री खुला «

श्वेतगंगा हाइड्रोपावरको आईपीओ बिक्री खुला

श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सार्वजनिक आह्वान पत्रानुसार निष्कासित सेयरमध्ये ५ प्रतिशत अर्थात् एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।
सर्वसाधारणलाई बिक्री खुला गरिएको सेयरमा लगानीकर्ताले ८ साउनसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे १८ साउनसम्म न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिन्छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो सेयर’को वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सक्ने छन् ।
कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुंगाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी (बीबी) आईएस’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्