Logo

नेपाल माइक्रो इन्स्योरेन्सकाे आईपीओ फागुन ११ गतेदेखि

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । यस्तै, कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई एक लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले अब बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले फागुन १५ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्