गण्डकी गाउँपालिकाका सबै सामुदायिक स्वास्थ्य इकाई बन्द «

गण्डकी गाउँपालिकाका सबै सामुदायिक स्वास्थ्य इकाई बन्द

गोरखाको गण्डकी गाउँपालिकाका सबै सामुदायिक स्वास्थ्य इकाई बन्द भएका छन् ।
गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएपछि १ साउनदेखि पालिकाका १५ वटै सामुदायिक स्वास्थ्य इकाई बन्द भएको हो । करारको स्वास्थ्यकर्मीको भरमा रहेको सबै सामुदायिक स्वास्थ्य इकाई बन्द भएको गाउँपालिकाको स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक बेली श्रेष्ठले बताइन् । “सामुदायिक स्वास्थ्य इकाईमा अहेव वा अनमीमध्ये एकजनाले स्वास्थ्य सेवा प्रवाह गर्दै आएका थिए,” उनले भनिन्, “गाउँसभाले करारका कर्मचारी हटाउने क्रममा स्वास्थ्यकर्मी पनि हटाएपछि सामुदायिक स्वास्थ्य इकाई बन्द भयो ।” सामुदायिक स्वास्थ्य इकाई बन्द हुँदा सामान्य स्वास्थ्य परीक्षण, प्राथमिक उपचार सेवा, गर्भवती जाँच, परिवार नियोजनका अस्थायी साधन वितरण, बालबालिकाको तौल अनुगमनलगायतका सेवा प्रभावित भएको उनको भनाइ छ ।
गाउँपालिकामा दुईवटा आयुर्वेदसहित २५ वटा स्वास्थ्य संस्था छन् । जसमा ६८ जना स्वास्थ्यकर्मी कार्यरत रहेकोमा एकैसाथ करारका ४० स्वास्थ्यकर्मीको करार अवधि थप नहुँदा पालिकाभर नै स्वास्थ्य सेवा प्रभावित भएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले जानकारी दिइन् । “एकसाथ धेरै कर्मचारी हटाइयो,” उनले भनिन्, “स्वास्थ्य संस्थाबाट सामुदायिक इकाईमा स्वास्थ्यकर्मी पठाउन पनि जनशक्ति भएन । बन्द गर्न बाध्य भयौं ।’ स्वास्थ्यकर्मी अभावका कारण पालिकामा १० गतेदेखि सञ्चालन हुने खोप कार्यक्रम पनि प्रभावित हुने देखिएको उनको भनाइ छ ।
तत्कालका लागि भएका स्वास्थ्यकर्मीलाई परिचालन गरेर अत्यावश्यक सेवा उपलब्ध गराउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले बताए । “गाउँपालिकाले अब आवश्यकताका आधारमा कर्मचारी पदपूर्ति गर्ने तयारी पनि गरेको छ,” उनले भने, “गाउँकार्यपालिकाको बैठक बसेर आवश्यक प्रक्रिया पूरा गर्नुप¥यो । सबै प्रक्रिया पूरा गर्न साउन मसान्तसम्म लाग्ला ।”

प्रतिक्रिया दिनुहोस्