Logo

तत्कालीन नेकपाका सचिवालय सदस्यबीच छलफल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका बहुमत नेताहरुबीच पार्टी एकताको विषयमा छलफल भएको बताएकाका छन् । बैठकमा सोमबार सार्वजनिक नेपाली कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय र एमालेका निर्णयबारे पनि छलफल भएको उनले जानकारी दिए ।
मंगलवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो । विचार मिल्नेहरुबीच एकताबारे छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताए ।
आफूहरूको एकता सत्तारुढ गठबन्धनविरुद्धमा भने नभएको उनको स्पष्टोक्ति छ । “नेपाली कांग्रेसको पनि केन्द्रीय समिति बैठक हिजो सकियो । उहाँहरुको निर्णय गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्ने भएको छ । त्यो बारेमा पनि हामीले चर्चा ग¥यौँ । एमालेका निर्णयहरु पनि आइराखेका छन्। त्यस बारेमा पनि चर्चा ग¥यौँ,” प्रचण्डले भने ।
गठबन्धनलाई कायम राखेरै जानुपर्ने भन्नेमा विमति नरहेको उनको भनाइ छ । स्थानीय तहको निर्वाचनको अनुभवलाई पनि ध्यान दिएर अझ प्रभावकारी कसरी बनाउने भन्ने बारेमा चर्चा भएको उनले बताए । “विचार मिल्नेहरुको बिचमा एकताको सम्भावना बारे पनि हामी छलफल गरिराखेका छौँ । त्यो भनेको यो गठबन्धनविरुद्ध भनेको होइन । पार्टी एकीकरणको बारेमा चर्चा गरेको छौँ,” उनले भने । अध्यक्ष दाहालले गठबन्धनलाई कायम राखेर जानमा कसैको पनि आपत्ति नभएको प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्