सडक नहुँदा खानेपानी आयोजना प्रभावित «

सडक नहुँदा खानेपानी आयोजना प्रभावित

सुर्खेतको चौकुने गाउँपालिका–५ को उत्तरी पहाडको टुप्पोमा समथर ठाउँ छ । त्यही समथर ठाउँमा अवस्थित छ रेक्चा गाउँ । वरिपरि हरियाली । तराईमा फल्ने आँपदेखि हिमालमा फल्ने स्याउ अनि पहाडमा फल्ने सुन्तला आगनमा रोपिएका छन् । पूर्वतिर फर्किंदा देखिने भेरी, कर्णाली नदीका साथै चौकुने र कैलालीको समथर भूभाग अनि पश्चिमतिर कर्णाली नदी एवं अछाम जिल्लाका मनोरम बस्तीहरू । वैशाख, जेठको गर्मीमा पनि शीतल हावाले स्पर्श गर्छ रेक्चाबासीलाई । तर रेक्चाबासीलाई यी सबै आनन्द अनुभूति गर्न नदिने एउटै समस्या छ, खानेपानी । पानीको अभावले गर्दा रेक्चाबासीलाई सधैं पिरलो भइरहन्छ ।
“बस्नका लागि ठाउँ राम्रो छ,” स्थानीय सुरजा देवकोटा भन्छिन्, “खानेपानीको साह्रै समस्या छ ।” गाउँको बीचमा केही सार्वजनिक कुवा छन् तिनै कुवाबाट पानी नापेर बाँडिचुँडी प्रयोग गर्छौं गाउँबासीले । वर्षाको समयमा कुवामा पानी बढ्छ । असोज कात्तिकदेखि भने पानीको उपलब्धता घट्दै जान्छ । माघ फागुनदेखि वैशाख जेठसम्म खडेरीको समयमा पाले राखेर पानी सबैलाई बाँडेर प्रयोग गर्दछन् । नजिक पानीका मुहान छैनन् । “वैशाख जेठमा कुवा सुक्छन् त्यसबेला पानी लिन डेढ दुई घण्टासम्म हिँडेर जानुपर्छ,” स्थानीय प्रकाश शाहीले भने, “खानेपानीकै अभावले यहाँका मान्छे बसाइँ सर्न बाध्य छन् ।”
रेक्चाबासीलाई खानेपानी पु¥याउन संघीय सरकारसँगको साझेदारीमा चौकुने गाउँपालिकाले वेतनखोली–रेक्चा–पुच्छ्म लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेको छ । बेतनखोलीको पानी लिफ्टबाट माथि ल्याएर रेक्चासहित नजिकका हाडाकाना, पुच्छ्म, बागमारा र रानागैरामा समेत खानेपानी पु¥याउने उक्त आयोजनाको लक्ष्य छ । आर्थिक वर्ष २०७७÷०७८ सुरु भएको उक्त आयोजना यही असारमा सकिसक्नुपर्ने थियो । ट्यांकी निर्माण, पाइपलाइन बिच्छ्याउनेलगायतका काम सकिए पनि आयोजना पूरा भएको छैन । गाउँपालिकाका सबइन्जिनियर पदम बिसीका अनुसार मुहानबाट गाउँसम्म पानी ल्याउनका दुई ठाउँमा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । ती ट्यांकीमा पानी ल्याउनका लागि दुईवटा विद्युतीय ट्रान्सफर्मर आवश्यक पर्ने बुढाले जानकारी दिए ।
आयोजना निर्माणको जिम्मा रवीन्द्र निर्माण कम्पनीले लिएको छ । आयोजनास्थलसम्म ट्रान्सफर्मर लिने बाटो नहुँदा सम्पन्न हुन नसकेको कम्पनीका रवीन्द्र शाहीले बताए । “अरु सबै काम भइसकेको छ,” उनले भने, “विद्युत ट्रान्सफर्मर किनेर रेक्चा गाउँसम्म पु¥याइसकेका छौं तर आवश्यक ठाउँसम्म लिने सडक नहुँदा लिन सकिएको छैन ।” अहिले रेक्चा गाउँसम्म मात्र सडक पुगेको छ । तर आयोजनाको मुहान भने गाउँदेखि करिब पाँच छ किलोमिटर टाढा छ । ट्रान्सफर्मर बोकेर लिन सम्भव नभएको भन्दै त्यहाँसम्म पुग्ने पहुँच मार्ग बनाइदिन कम्पनीले माग गरेको छ । गाउँपालिकाका पूर्वअध्यक्ष धिरबहादुर शाही पनि पहुँचमार्गकै समस्याले आयोजना समयमा सम्पन्न हुन नसकेको बताउँछन् । भूगोल र वस्तुस्थिति हेर्दा पाँच÷छ किलोमिटर ट्रयाक्टर जानेसम्मको सडक बनाइदिन आवश्यक देखिएको पूर्वअध्यक्ष शाहीले बताए ।

जिल्ला समन्वयको टोलीद्वारा अनुगमन
जिल्ला समन्वय समिति सुर्खेतको टोलीले खानेपानी आयोजनास्थलको स्थलगत निरीक्षण गरेको छ । समवन्य प्रमुख गंगाराम सुनार, उपप्रमुख सचिन वडुवाल, कार्यालयका अधिकृत मेघनाथ सापकोटालगायतको टोलीले ३० असारमा स्थलगत निरीक्षण गरेको हो । निरीक्षणपछि समन्वय प्रमुख सुनारले आयोजनास्थलसम्म पहुँचमार्ग पु¥याउन आवश्यक देखिएको बताएका छन् । “आयोजनाको अधिकांश काम भइसकेको ट्रान्सफर्मर पु¥याउन नसकेर सम्पन्न नभएको देखिन्छ,” प्रमुख सुनारले भने, “अब आयोजनालाई सम्पन्न गर्न पहुँचमार्ग पु¥याउने कुरामा स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्नेछु ।”

प्रतिक्रिया दिनुहोस्