Logo

बैंकविरुद्ध हड्ताल गर्ने होटल व्यवसायीको चेतावनी

सिद्धार्थ होटल संघ भैरहवाले बैंकहरुको गलत कृयाकलाप तत्काल रोक्न माग गरेको छ । उनीहरुले बैंकले धम्किपूर्ण तरीकाले असुल गर्दै आएको भन्दै तत्काल रोक्न माग गर्दै नरोकिए होटल बन्द गरी आन्दोलनमा उत्रने बताएका छन् ।
संघले विज्ञप्ति जारी गर्दै लगानीकर्ता बैंक, सरकारलगायत सरोकारवाला यो विषयमा गंभिर नभए होटल नै बन्द गरी आन्दोलनमा उत्रने र तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएका हुन् ।
बैंकहरुले लगानी गरेको ऋणको किस्ता असुलीका लागि मानसिक तनाब दिएको, दिनहुँ ताकेता गर्ने, होटल होटलमा गार्ड पठाउने, धम्की दिने, किस्ता नबुझाए लिलामको सूचना निकाल्ने जस्ता कार्य दिनहुँ गरेका यस्ता गतिविधि तत्काल रोक्न संघले माग गरेको छ ।
संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले कोरोना भाइरसका कारण बिगत तीन वर्षदेखि बन्द जस्तै रहेको अवस्थामा रहेका होटल पर्यटन क्षेत्रका व्यवसायीहरु बिस्तारै लयमा आउने क्रममा रहेको समयमा धम्किपूर्ण व्यवहार गरी असुलिउपर गर्न लागेकोप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठले राज्यले पनि अति प्रभावित क्षेत्रका रुपमा घोषणा गरेको यो क्षेत्रलाई बैंक तथा वित्तीय क्षेत्रले भने पर्यटन व्यवसायीहरुको मानसिक सन्तुलन गुम्ने गरी धम्किपूर्ण तरिका प्रयोग गरी असुलीमा उत्रनु दुखद भएको बताए ।
विज्ञप्तिमा ३ वर्ष समय अवधि थप गर्नुपर्ने र प्यानल हर्जनाबाहेक सबै ३ वर्ष पछि नियमित रुपमा भुक्तान गर्ने उल्लेख छ । त्यसै गरी बुद्ध सर्किट, लुम्बिनी प्रदेश क्षेत्रमा रहेका होटल व्यवसायको अवस्था के कस्तो छ अनुगमन गर्न माग गरेको छ ।
संघमा बेलहिया, भैरहवा, बुटवल, तिलोत्तमा, लुम्बिनी गरी १ सय ५० भन्दा बढी पर्यटकीय सुविधाका होटल आवद्ध रहेको संघका महासचिव रविन्द्र शर्मा घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्