भारत भ्रमण सोचेभन्दा सफल भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको तीन दिने भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किएका छन् ।
त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताए । प्रचण्डले भने, “सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन । उस्तै उस्तै गरेको पाइयो ।” आफ्नो भ्रमण अपेक्षाअनुसार नै भएको उनले बताए । प्रचण्डले थपे “कतिपय सन्दर्भमा मैले सोचेभन्दा राम्रो भएको महसुस भएको छ ।”
भारत भ्रमणका क्रममा उनले आइतबार भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका थिए । नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसीहितका बारेमा छलफल भएको थियो ।
भेटपछि प्रचण्डले भारत भ्रमणमा फलदायी र उपलब्धिमूलक कुराकानी भएको बताए । उनले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताए । अध्यक्ष दाहालले कार्यालय व्यवस्थापनको बारेमा बुझ्दा आफू उत्साहित भएको पनि सुनाए । उनले दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि सम्बन्धलाई बिस्तार गर्ने कुरामा सहमति भएको बताए ।
अध्यक्ष दाहालले भाजपा र नेकपा माओवादीले दुई देश र पार्टी बीचको सम्बन्ध बिस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त रुपमा कार्यक्रम गर्ने समझदारी भएको पनि बताए । सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकर पनि उपस्थित थिए ।
अध्यक्ष दाहालले शनिबार भारतीय विदेशीमन्त्री जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए । यस्तै, अध्यक्ष प्रचण्ड भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले अध्यक्ष रहेको ‘फाउण्डसेन फर पब्लिक अवायरनेस एण्ड पोलिसी’ ले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गरेका थिए ।