Logo

१९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन् ।
शनिबार भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताए । उनले करिब तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहो¥याए । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै उनले नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पारे ।
अध्यक्ष दाहालले भने, ‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो । दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो । कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन । समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो । यो भ्रमण आकस्मिक होइन, दुई तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो ।’
अध्यक्ष दाहाल शुक्रबार दिउँसो भारत प्रस्थान गरेका थिए । उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गरे । त्यसैगरी अध्यक्ष दाहालले भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गरेका छन् । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका छ ।
यसैबीच, अध्यक्ष दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले फाउन्डेशन फर पब्लिक अवायरनेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरु समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने बताएका हुन् । त्यस अवसरमा उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने पनि स्पष्ट पारे । अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढन सकिने बताए । अध्यक्ष दाहालले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरे । उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्