फोहोरलाई मल बनाउने चासो

फोहोरलाई मल बनाउने विषयमा संसदीय समितिले चासो देखाएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सदस्यहरुलाई भक्तपुर नगरपालिकाले फोहोरलाई व्यवस्थापन गरी प्रांगारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो ।
समितिको शुक्रवारको बैठकमा सांसदहरुले भक्तपुर नगरपालिकाले फोहोरबाट प्रांगारिक मल बनाउने प्राविधि र प्रक्रियाको विषयमा जानकारी लिएका छन् । भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रालिकी प्रवन्धनिर्देशक उषा गिरीले जानकारी गराएकी थिइन् । निर्देशक गिरीले भक्तपुर नगरपालिकाले चार वर्षदेखि कुहिने फोहोरमार्फत गन्धरहीत मल रिकिसी कम्पोस्ट प्रालिको प्राविधिक सहयोगमा बनाइरहेको बताइन् । उनले कुहिने फोहोर संकलन गरेर प्लान्टमा आवश्यकता अनुसार धानको भुस, धानकै ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया मिसाएपछि मल बनाउने बताइन् । निर्देशक गिरीले यो प्रविधि जापानी प्रविधि भएको र यस प्रविधिले प्राङ्गारिक मल गन्धरहित र बिरुवाका लागि पूर्ण पौष्टिक हुने रामेछापको गोकुलगंगामा आलु खेतीमा प्रयोग गरेर समेत देखिएको पनि जानकारी दिइन् । उनले यो मल रासायनिक मल प्रयोग नभएको स्थानमा रासायनिक मलको भन्दा राम्रो हुने दावी पनि गरिन् ।
पछिल्लो समय काठमाडौं उपत्यका लगायतका स्थानमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न कुहिने फोहोरबाट प्रांगारिक मल उत्पादन गर्नसकिने बताइन् । उनले फोहोरबाट मल उत्पादन गर्नसके अर्गानिक वस्तु उत्पादन गर्न सकिने पनि बताइन् ।