हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट आज

हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने भएको छ । कम्पनीले १५ देखि १९ असारसम्म सर्वसाधारणमा जारी गरेको आईपीओ बाँडफाँट गर्न लागेको हो । उक्त आईपीओ ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा बाँढफाँट हुने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको कुल १९ लाख ६८ हजार २५० कित्ता सेयर वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । यी बाहेक सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरको बाँडफाँट मंगलबार हुने भएको हो ।
कम्पनीको आईपीओ खरीदका लागि १० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी १६ लाख २६ हजार ३४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९८० कित्ता सेयर खरीदको माग भएको हो । कम्पनीको आईपीओ १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले हात पार्नेछन् । यी मध्य थप दुई जनाले एक एक कित्ताका दरले सेयर पाउने देखिन्छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म हात पार्नेछन् ।
कम्पनीको अधिकृत पुँजी १ अर्ब ९८ करोड र जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ । हाल कम्पनीको संस्थापकतर्फ चुक्ताभएको पुँजी ८७ करोड छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित स्थानीयमा समेत ९ लाख कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।
आईपीओबाट प्राप्त भएको रकम कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न गर्नको लागि बैंकसँग लिएको १५ करोड ऋण र आयोजना निर्माण कार्यसँग सम्बन्धित अन्य बाँकी खर्च भुक्तानीमा उपयोग गरिनेछ ।