विवाद समाधान नभएसम्म एनएसएल दोस्रो संस्करण नहुने «

विवाद समाधान नभएसम्म एनएसएल दोस्रो संस्करण नहुने

सहिद स्मारक ए डिभिजन लिगका चार क्लबले नेपाल सुपर लिग (एनएसएल) प्रति असन्तुष्टि जनाएपछि दोस्रो संस्करणको एनएसएल अन्योलमा परेको छ । तत्कालिन अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष र एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँगको सम्झौता नै त्रुटीपूर्ण भएको भन्दै खारेजका लागि एन्फा पदाधिकारी र असन्तुष्ट क्लब निचोडमा पुगेका थिए ।
आइतबार एन्फाले आयोजकसँग अनौपचारिक बैठक गरेको थियो । बैठकपछि एन्फाले विवाद समाधान नभएसम्म दोस्रो संस्करणको नेपाल सुपर लिग नहुने जनाएको छ । कोरोना महामारीका बीच सफलतापूर्वक पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) सम्पन्न भइसकेको छ । दोस्रो संस्करणका लागि मिति तोकिए पनि सहिद स्मारक ए डिभिजन लिगका चार क्लबले असन्तुष्टि जनाउँदा अहिले अन्योलमा परेको छ । खेलाडी स्थानान्तरणको विषयदेखि फिफा र एफसीमा क्लब सिफारिस सम्बन्धमा केही प्रश्न चार ए डिभिजन क्लबले उठाएपछि उब्ज्एिको समस्या दोस्रो संस्करण आयोजनाका लागि टड्कारो देखिएको हो । अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) मा अहिले नेतृत्व परिवर्तन भएको छ र नयाँ नेतृत्वले सम्झौता स्पष्ट नभएको र त्रुटीपूर्ण भएको बताएको छ । तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र एनएसएल आयोजकबीचको सम्झौता स्पष्ट नभएको नयाँ नेतृत्वले औंल्याएको र सोहीबारे आयोजकलाई आइतवार एन्फा मुख्यालयमा बसेको अनौपचारिक बैठकमा जानकारी गराएको महासचिव किरण राईले बताए ।

त्रुटीपूर्ण रहेको भन्दै खारेज सिफारिस गर्ने भन्ने विषयमा आइतबार एनएसएलका प्रमुख कार्यकारी निर्देशक सुदीप शर्मा र निर्देशक श्रीयान्स कार्की बुझ्न एन्फा मुख्यालय पुगेका थिए । त्यसो त दोस्रो संस्करणको एनएसएलका लागि अक्सन पनि सम्पन्न भइसकेको छ । पहिलो संस्करणमा भन्दा तीन बढी टोलीले सहभागिता जनाउँदै छन् । दुई पटक मिति तोकिए पनि दोस्रो संस्करणको एनएसएल हुने अझै अन्योल छ । त्रुटीपूर्ण सम्झौतालाई परिमार्जन गरेर विवाद समाधान भएपछि मात्र दोस्रो संस्करणको एनएसएल हुने महासचिव राईले बताए ।
‘ए’ डिभिजन लिगका क्लबहरूसँगको सम्झौता बाँकी छँदै एनएसएलका टिमहरूले मार्की खेलाडीको रूपमा खेलाडी अनुबन्ध गरेपछि विवाद शुरु भएको थियो । अहिले विवाद उत्कर्षमा पुगेपछि आयोजना अन्योल भएको हो ।

प्रतिक्रिया दिनुहोस्