नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मूल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ ।
काठमाडौंमा शुक्रबार बसेको मूल आयोजक समितिको औपचारिक बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्देशिका जारी गरेको हो । प्रतियोगिता पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ सम्म आयोजना गर्ने तालिका छ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले लोगो र मस्कट पनि सार्वजनिक गरिसकेको छ । मूल आयोजक समितिको अध्यक्षमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र सदस्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तोकिएको छ भने मूल आयोजक समितिमा २७ सदस्य र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव नै सदस्यसचिवको रुपमा रहने निर्देशिकामा उल्लेख गरिएको छ । पहिलो बैठकमा विभिन्न खेल संघका पदाधिकारी र तीन विभागीय टोलीको प्रमुखहरुको पनि उपस्थिति थियो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मूल आयोजक कमिटीको बैठक आह्वानसमेत गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री गहतराले नवांै राष्ट्रिय खेलकुदका लागि बजेट निकासा भएको र कुनै पनि हालतमा प्रतियोगिता सञ्चालन हुने बताए ।
यसअघि गत जेठमा हुने भनिए पनि विभिन्न समस्याका कारण प्रतियोगिताको मिति सारिएको थियो । प्रतियोगितामा ३६ खेलमा प्रतिष्पर्धा हुनेछ भने २ वटा खेल प्रदर्शनीको रुपमा आयोजना हुनेछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमै आयोजना गर्नुपर्ने थियो । तर कोभिडका कारण धकेलिएको हो ।