उत्पादनमा वृद्धि गर्न नसके अर्थतन्त्रमा थप चुनौती «

उत्पादनमा वृद्धि गर्न नसके अर्थतन्त्रमा थप चुनौती

अर्थविद्हरुले सरकारले मुलुकभित्र नै उत्पादनमा वृद्धि गर्न नसके अर्थतन्त्रमा थप चुनौती थपिँदै जाने बताउँदै आएका छन् । अर्थतन्त्रमा थप चुनौतीहरु बढ्दै जाने भनिरहेको अवस्थामा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले पनि चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलताहरु थपिँदै गएको बताएका छन् ।
शनिवार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष २०७९÷०८०को बजेट विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले निर्माण सामग्री, पेट्रोलियम पदार्थ, बैंकको ब्याजदर, यातायात ढुवानी भाडासमेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौतीहरु थपिँदै जाने बताए । उनले सरकारले आगामी आर्थिक वर्षमा आयात प्रतिस्थापन गरेर निर्यातलाई दोब्बर गर्ने नीति ल्याएको भने पनि सम्भव नभएको दाबी गर्दै हरेक चिजको मूल्यवृद्धि हुँदै गएकाले हाम्रो कुनैपनि उत्पादन प्रतिष्पर्धी नहुने र निर्यात दोब्बर हुन नसक्ने बताए ।

यस्तै, आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुन नसक्ने दाबी पनि उनले गरे । ८ प्रतिशतको आर्थिक वृद्धि हुँदा धेरै आयात गर्नुपर्ने हुनछ भन्दै डा. खतिवडाले वर्तमान सरकारले पाँच वर्षमा मुलुकको व्यापार सन्तुलन ल्याए सबैले सम्मान गर्र्ने बताए । उनले आर्थिक वृद्धिदर ५ प्रतिशत माथि जाने बित्तिकै व्यापार घाटामा दबाब पर्ने अवस्था रहेको पनि बताए । ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जाने भन्दै उनले सरकारलाई यसमा हेक्का राख्नुपर्ने सुझाव दिए ।
पूर्वमन्त्री खतिवडाले सरकारलाई आर्थिक स्थायीत्व कायम गर्ने, उच्च आर्थिक वृद्धि गरिहाल्ने र कि त अर्थतन्त्र समाप्त पार्ने तीन वटा मात्रै च्वाइस रहेको बताए । उनले अर्थतन्त्र संकटोन्मुख भएकाले सरकार सम्यम हुनुपर्ने पनि बताए । पूर्व अर्थमन्त्री खतिवडाले सरकारले बजेटमार्फत आर्थिक वृद्धिलाई ठिक्कको तहमा अनुमान गरेर मूल्यवृद्धि पनि तल राखेर वित्तीय स्थायीत्व कायम गर्दै वाह्य क्षेत्रको स्थिरता कायम गरी निजी लगानीको वातावरणलाई सहज बनाउने, लगानी निर्यात मुलक क्षेत्रमा लगाएर वाह्य क्षेत्र सन्तुलन हासिल गदै जानेतर्फ जानु पर्नेमा उल्टो बाटोमा गएको आरोप पनि लगाए ।
कालोबजारी र पुँजी पलायनमा पैसा हराएर बैंकहरुमा नफर्किएकाले बजारमा तरलता अभावको समस्या भएको भन्दै उनले ११० प्रतिशतसम्म कर्जा बिस्तार भएर मात्रै बजार तरलता अभाव नभएको बताए । तरलता समस्या विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक, राजश्व अनुसन्धान र गृहमन्त्रालयले अध्ययन गर्नुपर्ने भन्दै हुण्डी मार्फत डलर बाहिर गएकाले त्यसलाई सरकारले रोक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्