सिद्धार्थनगरले कर मा कडाइ गर्ने

सिद्धार्थनगर (भैरहवा)को आर्थिक वर्ष २०७९/८० को बजेटले कर संकलनमा कडाईका साथ प्रस्तुत हुने संकेत गरेको छ । गत १० गते उप प्रमुख उमा अधिकारीले प्रस्तुत गरेको बजेटमा नगरपालिकाले उठाउने सबै प्रकारका करहरूलाई दरभन्दा दायरा वृद्धि गर्दैै केही क्षेत्रको करको दायरामा सामान्य परिवर्तन भएको छ ।
बजेटले बिगतका वर्षहरूमा कर नबुझाएका व्यवसायीहरू संग विगतका आर्थिक वर्षहरूको कर संगै जरिबाना जोडी बक्यौता असुल गर्ने जनाएको छ । विगतमा यस्ता करदाता व्यवसायीहरूलाई निश्चित समय दिई जरिवाना छुटको व्यवस्था हुने गरेको थियो । त्यसैगरी व्यवसाय करमा एउटै फर्ममा फरक फरक प्रकृतिका व्यवसाय सञ्चालन गरेकाको हकमा तोकिए बमोजिमको फरक–फरक प्रकृतिका व्यवसाय करको दरले हुन आउने रकम जोडी व्यववसाय कर लिने भएको छ ।
त्यसै गरी सम्पत्ति कर बुझाउने कुनै करदाताले आफनो नाममा रहेको सम्पत्ति लुकाई वा खण्डीकरण गरी वा भौतिक संरचना नदेखाई सम्पत्ति मूल्यांकन गराई कर तिरेको प्रमाणित भएमा बास्तबिक सम्पतिको मूल्यांकनबाट लाग्ने कर रकममा साबिकमा बुझाएको रकम घटाई बाँकी रहने रकममा जरीबाना लगाउँदै असुल गर्ने भएको छ ।

त्यसै गरी करको दायरामा नआएकाहरूलाई करको दायरामा ल्याउने, सेवाग्राही करदातालाई घरबाटै कर तथा शुल्क बुझाउन सक्ने गरी विद्युतीय भुक्तानी प्रणालीको प्रयोग व्यवसायीलाई कर तिर्न प्रोत्साहन गर्न कर सप्ताह वा कर जागरण कार्यक्रम, निरन्तर र समयमै कर बुझाउने कर दातालाई सम्मान जस्ता कार्यक्रम सिद्धार्थनगरले ल्याएको छ । करदाताले असोज महिनासम्म व्यवसाय कर बुझाएमा १० प्रतिशत छुट पाउनेछन् ।
के–केमा बढयो करको दर
सिद्धार्थनगरको बजेट अनुसारसुपर मार्केट,मेडिकल कलेज, बैंक तथा वित्तिय संस्था, स्पा तथा मसाज सेन्टर, डान्सबारको कर बढाएको छ । सुपरमार्केटको कारोबारका आधारमा ७५ हजारसम्म, मेडिकल कलेजको १ लाख रुपैया, बैंकहरूको ५० हजारसम्म, स्पा तथा मसाज सेन्टरको ७ हजार ५ सय, डान्सबारको ७ हजार ५ सय वार्षिक कर बुझाउनु पर्नेछ । त्यसै गरी घर बहाल करलाई पनि बिभाजन गर्दै बैंक, संघ–संस्थाले १०, व्यक्तिगतले ५ र कृषि क्षेत्र प्रयोजनमा २ प्रतिशत घर बहाल लगाउने व्यवस्था गरेको छ । सिद्धार्थनगरमा ५ हजार बढी व्यवसायी दर्ता भए पनि ३ हजार ५ सय जतिले मात्र कर तिर्ने गरेका छन् भने घर बहाल तिर्ने पनि २ हजार २ सय जति मात्र रहेको नगरपालिका राजश्व शाखाका कर्मचारी अमित श्रेष्ठले बताए ।