डडेल्धुरामा खानेपानीका मुहान सुक्दै «

डडेल्धुरामा खानेपानीका मुहान सुक्दै

गर्मी मौसम सुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् ।
केही समययता पर्याप्त रूपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तीव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका हुन् । बीच जंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरू सुक्दा खानेपानीको हाहाकार हुन थालेको हो ।
डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाका केही वडामा खानेपानीका मुहान सुक्न थालेका छन् । जलवायु परिवर्तनका साथै विकासको नाममा जिल्लाका ग्रामीण क्षेत्रमा हेभी इक्युपमेन्ट (डोजर)को प्रयोग गरी सडक निर्माण गनृे क्रम बढेसँगै पानीका मुहान सुक्न थालेका हुन् ।
केहीवर्ष यतादेखि डडेल्धुरामा पानीको सतह कम हुँदै गइरहेको जिल्ला खानेपानी डिभिजन कार्यालय जनाएको छ । जंगलमा जथाभावी सडक निर्माण हुनु, जंगल फडानी बाढीपहिरो र हेभी इक्युपमेन्टको प्रयोगले पानीको मुहान क्षेत्रको भू–भाग कम्पनका कारण पानीका मूलमा असरपरी सुक्न थालेको जिल्ला खानेपानी डिभिजन कार्यालय डडेल्धुराका प्रमुख इन्द्रबहादुर स्वाँरले बताए ।

डडेल्धुराका विभिन्न स्थानमा रहेका पँधेरा सुकिसकेका छन् भने केही सुक्ने अवस्थामा छन् । केहीवर्ष यतादेखि पानीका मुहान सुक्नुका साथै पानीको सतह घटेसँगै अधिकांश खानेपानीका धारामा पानी आउन छोडेको छ । वर्षौंदेखि खानेपानीको अभाव हुँदा नवदुर्गा–१ का स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन् । खानेपानीको अभावमा घण्टौंको दूरीबाट खानेपानी ल्याएर खान बाध्य रहेको नवदुर्गा–१ का स्थानीय कलावतीदेवी भुलले दुःखेसो पोखिन् ।
समयमै खानेपानीका मुहानको संरक्षण नगर्ने हो भने भविष्यमा खानेपानीको हाहाकार हुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । खानेपानीका मूल संरक्षण नहुने हो भने जिल्लाका विभिन्न ठाउँमा पानी अभाव हुने खानेपानी डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्