राजनीतिबाट संन्यास लिन माधव नेपाललाई योगेशको सुझाव «

राजनीतिबाट संन्यास लिन माधव नेपाललाई योगेशको सुझाव

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास लिएर बस्न सुझाव दिएका छन् ।
आइतवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्धमा रहेकोले संन्यास लिएर बस्न सुझाव दिएका हुन् ।
उनले केही दिनअघि अध्यक्ष नेपालले १० भाइ एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए । उनले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे ।
सांसद भट्टराईले आफूले गरेका गल्तीहरुलाई आत्मसाथ गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पेर आफू आनन्दले बस्न सुझाव दिए । उनले मुख छोड्दै हिँड्ने हो भने आफूलाई पनि त्यो भन्दा धेरै मुख छोड्न आउने बताए ।

सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरुले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताए । उनले समाजवादीका नेताहरुले एमालेले शर्त माने एकता हुने कुरा गर्नुको तुक नरहेको स्पष्ट पारे । त्यस्तै नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सबै नेताहरुले घमण्ड त्यागेर समीक्षा गर्न जरुरी रहेको बताए । उनले कम्युनिष्टहरुको जनमत लगभग दुई तिहाइ भए पनि विभाजित हुँदा त्यसको अर्थ नदेखिएको बताए ।
त्यस्तै नेकपा एमालेका सांसद खगराज अधिकारीले मूल घरमा फर्किन चाहनेहरुलाई एमालेले स्वागत गर्ने बताए । उनले आफ्नो बाटो गलत भयो भनेर समीक्षा गर्नेहरुलाई एमालेले क्षमता अनुसारको जिम्मा दिने पनि बताए । सांसद अधिकारीले नेकपा एमालेसँग विभाजित भएर जानु आफ्नै गल्ती रहेको कुरा एकीकृत समाजवादीका पछिल्ला कार्यहरुले पुष्टि गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्