प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुटेको हो : गौतम «

प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुटेको हो : गौतम

पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन् ।
शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि फलस्वरुप ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताए ।
उनले एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव, त्यसको जवाफमा प्रधानमन्त्रीले संसद् नै विघटन गर्नु कुनै हिसाबमा उचित नभएको बताए । उनले पहिलो चरणमा अध्यक्ष दाहालको दोषका कारण नेकपा विभाजित भएकोप्रति लक्षित गर्दै फलस्वरुप ओलीले संसद विघटन गरेको बताए । सदस्य गौतमले कम्युनिष्ट एकताकै लागि आफू कुनै समूहमा नलागेको पनि बताए ।
उनले वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेकोले आत्मलोचना गरेको बताए । उनले त्यो बेला अध्यक्ष दाहालको समूहमा नगई बीचमा बसेर मध्यस्थता गर्न सकेको खण्डमा कुनै हालतमा पार्टी विभाजन नहुने बताए ।
राष्ट्रिय सभा सदस्य गौतमले तत्कालीन अध्यक्ष दाहालले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको तर्क गरे । उनले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि प्रचण्डले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताए । उनले अन्तिम बैठकमा अध्यक्ष दाहालले आफूलाई नै सबै दोष दिएपछि आफू मौन बसेको बताए ।

राष्ट्रिय सभा सदस्य गोतमले नेपाली कांग्रेस पार्टी दलाल, नोकरशाही, पुँजीपति वर्गको पार्टी नभएको पछिल्ला घटनाक्रमले देखाएको बताए । उनले कांग्रेस पुँजीवादी, सुधारवादी पार्टी हो भन्ने प्रमाणित भइसकेको तर कांग्रेसलाई सरकारको नेतृत्व दिँदा एमसीसीजस्ता सबै कुरा भित्रिने आरोप लगाए । उनले एमसीसीलाई संसदबाट अनुमोदन गर्नपनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य पारेको बताए ।
राष्ट्रिय सभा सदस्य गौतमले स्थानीय निर्वाचनको नतिजालाई हेर्दा नेपाली कांग्रेस आउँदो निर्वाचनमा पनि पहिलो पार्टी बन्ने देखिएको बताए । कांग्रेसलाई नेतृत्व सुम्पिँदा एमसीसीजस्ता कुराले स्थान पाउने भन्दै कम्युनिष्टहरु मिलेर कांग्रेसलाई सँगै लैजानुपर्ने तर कांग्रेसको नेतृत्वमा सरकार बन्न दिनु नहुने बताए । उनले कांग्रेसको नेतृत्वमा देश विकास हुन नसक्ने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्