Logo

ग्यासमा दोहोरो मूल्य कायम गर्न सांसदहरूको माग

सांसदहरूले खाना पकाउने ग्यासको मूल्य दुई थरी कायम गर्न माग गरेका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा नेकपा सांसद कृष्णकुमार श्रेष्ठले व्यावसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मूल्य कायम गर्न आग्रह गरेका हुन् ।
लामो समयदेखि घरायसी र व्यावसायिक प्रयोजनका लागि दुईथरी सिलिन्डर कायम गर्ने भने पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । यसअघि ग्यासमा दुई थरी मूल्य कायम गर्न व्यवसायीले सिलिन्डरमा निलो रङसमेत लगाएका थिए ।
व्यावसायिक प्रयोजनमा भ्याट छुटको व्यवस्था रहेका कारण दुईथरी मूल्य कायम गर्नुपर्ने उनको माग छ । यसअघि निलो र रातो रंगको ग्यास सिलिन्डर प्रयोगमा ल्याइए पनि कमिसनको चलखेलका कारण सफल हुन नसकेको भन्दै अब भ्याट फिर्ता बैंकमार्फत हुनुपर्ने सांसद श्रेष्ठले बताए । सिलिन्डरमा दुई थरी मूल्य कायम गरी उपभोक्तालाई सहुलियतमा ग्यास वितरण गर्नुपर्ने उनको भनाइ छ ।
समितिको बैठकले निर्माणाधीन पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण केन्द्रहरूको कार्य प्रगति विवरण बुझ्न स्थलगत अवलोकनमा जाने निर्णय गरेको छ । नेपाल आयल निगमले रक्सोलदेखि अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन विस्तार तथा झापा, सर्लाही, चितवन र भैरहवामा भण्डारण केन्द्र स्थापनाका लागि काम सुरु गरेको छ ।
त्यसको यथार्थ जानकारी लिन समितिका सदस्यहरू आफैं स्थलगत अवलोकनमा जाने निर्णय गरिएको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए । समितिले स्थलगत अवलोकनको सम्पूर्ण व्यवस्था मिलाउन नेपाल आयल निगमलाई निर्देशन पनि दिएको छ ।
यस्तै समितिले ग्यासको बुलेट र टयांकर सञ्चालनका लागि जथाभावी इजाजत दिने काम नगर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति श्रीवास्तवले व्यवसायीलाई विगतमा पनि दुःख दिने गरिएकाले इजाजत दिँदा सम्बन्धित निकायसँग विस्तृत छलफल गर्न निगमलाई सचेत गराइएको बताए । पेट्रोल पम्प सञ्चालन गर्न दिइएको अनुमतिको विवरण र त्यसका प्रक्रियासम्बन्धी सम्पूर्ण विवरण तत्काल समितिमा पेश गर्न नेपाल आयल निगमलाई पनि समितिले निर्देश गरेको छ ।
बैठकमा उद्योग सचिव यामकुमारी खतिवडाले पेट्रोलियम पदार्थको भण्डारण केन्द्र स्थापनाका लागि झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गरिएको र अन्य ठाउँमा पनि जग्गा खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विधिसम्मत ढंगले ग्यास तथा पेट्रोल ढुवानी गर्ने व्यवसायीको अभाव रहेको उल्लेख गर्दै उनीहरूमाथि छानबिनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । पेट्रोलियम पदार्थको भण्डारण केन्द्र स्थापनाका लागि खरिद गरिएको जग्गासम्बन्धी विवाद अख्तियारमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै त्यसको छिनोफानो हुनेबित्तिकै निर्माण कार्यलाई गति दिने योजना रहेको बताए ।
कांग्रेस सांसद प्रकाश रसाइलीले काठमाडौं उपत्यकामा मापदण्डविपरीत रहेका पेट्रोल पम्प सरकारले किन हटाउन नसकिएको भन्दै प्रश्न गरे । कालिमाटीमा रहेको पम्प नजिकै खोलामा पुल बनेपछि पम्प सडकको बीचमै परेको भन्दै त्यसलाई हटाउन उनले माग गरे ।
बजारमा खाना पकाउने ग्यासको खपत दिनप्रतिदिन बढ्दै गएको छ । घरायसी भन्दा पनि व्यवसायिक प्रयोजनका लागि ग्यासको खपत धेरै हुने गरेको छ । सर्वसाधारण व्यक्ति र पाँच तारे होटललाई ग्यासमा एउटै मूल्य कायम गर्दा उपभोक्तालाई प्रत्यक्ष असर पर्ने भन्दै सांसदहरूले तत्काल दोहोरो मूल्य कायम गर्न माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्