Logo

माटो बिनै तरकारी खेती

माटो बिनै तरकारी खेती गर्न सकिन्छभन्दा अचम्म लाग्न सक्छ, तर दाङका एक युवाले माटोबिनै बेमौसमी तरकारी खेती सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ रावत गाउँमा हाइड्रोयानिक बटोनेट प्रविधि अर्थात् माटो बिनै तरकारी खेती सुरु गरिएको हो ।
यसरी माटोे बिनै तरकारी खेती गर्न सकिन्छ भन्ने अमृत धितालले प्रमाणित गरेका छन् । करिब एक करोड रूपैयाँको लगानीमा माटो बिना तरकारी खेतीको सुरुवात गरिएको हो । अत्याधुनिक प्रविधिबाट करिब ३ कट्ठा जमिनमा माटोबिनै तरकारी खेती गरेको सञ्चालक धितालले बताए । जिल्लामा धेरै खेतीयोग्य जमिन बाँझो रहने गरेको छ । यसको सदुपयोग हुनसमेत सकेको छैन ।
फाइवर प्लास्टिकको सिटको घरभित्र प्लास्टिकको गमलामा ढुंगा जस्तै देखिने मिडियाको प्रयोग गरी तरकारी खेती गरिएको छ । यसरी तरकारी लगाई सकेपछि गोडमेल गर्नु नपर्ने, असिनापानीले क्षति गर्न नसक्ने, जनशक्ति कम लाग्ने, लामो समयसम्म आम्दानी लिन सकिनेलगायतका फाइदा रहेको उनको भनाइ छ । नयाँ तरीकाले तरकारीखेती सुरु गरेपछि विभिन्न ठाउँबाट अध्ययन अवलोकन गर्न मानिसहरू आउने गरेका छन् ।
तरकारी उत्पादनमा माटोको प्रयोग गरिएको त छैन, तर तरकारीको बिरुवामा नाईट्रोजन, फस्फोरस, पोटासलगायतका भिटामिन प्रयोग हुने गरेको छ । अृमत कृषि फर्ममार्फत सञ्चालन गरिएको फार्ममा गोलभेंडा, काँक्रा, भेडेखुर्सानी, बन्दागोपी, भण्टा, चुकुन्दरलगायतका तरकारी खेती गरिएको छ ।
तरकारी उत्पादनका गर्न भिटामिन र पानी राख्नेलगायतका कामका लागि विद्युतीय उपकरण प्रयोग गरिएको छ । तरकारी टिप्न, बिरुवा रोप्न र अन्य रेखदेखका लागि मात्रै जनशक्ति चाहिने गरेको छ । तरकारी खेतीका लागि अधिकांश विद्युतीय उपकरणको प्रयोगले सहज बनाएको उनको भनाइ छ । “प्रविधिले निकै सजिलो बनाएको छ, १÷२ जनाले नै ठूलो परिमाणमा तरकारी उत्पादन गर्न सकिन्छ,” धितालले भने ।
अधिकांश काममा विद्युतीय उपकरण प्रयोग गरिएका कारण कहिलेकाहीँ विद्युत् आपूर्ति नहुँदा समस्या हुने गरेको धितालले बताए । विद्युत्को विकल्पको व्यवस्था गर्न नसकिएको उनको भनाइ छ । लामो समयसम्म बिजुली बत्ती नहुँदा क्षति पुग्ने गरेको उनले बताए । “एकदिन विद्युत् आपूर्ति नहुँदा खासै समस्या हुँदैन्, तर २४ घण्टाभन्दा बढी भयो भने त ठूलो क्षति हुन्छ,” धितालले भने ।
कृषिमा भित्रिएको यो नयाँ प्रविधि विदेशमा अध्ययनको क्रममा अवलोकन गरेर नेपालमा सुरु गरेको उनले बताए । यो प्रविधिको अध्ययन गर्न जिल्लाभित्र तथा बाहिरबाटसमेत मानिसहरू आउने गरेका छन् । “कृषिमा नयाँ प्रविधिको सुरुवात गरेका छौं, नयाँ प्रविधिमा लगानी पनि ठूलो भएको छ, तर कृषि प्रोत्साहनका लागि सहयोग गर्ने भन्ने भाषणमा मात्रै सिमिति हुने गरेको छ,” उनले भने, “अहिलेसम्म कुनै निकायबाट पनि आफूलाई सहयोग प्राप्त भएको छैन् ।” तीन कट्ठा क्षेत्रफलमा लगाएको तरकारी रेखदेख गर्न अहिले एक जना छन् । जनशक्ति धेरै चाहिँदैन्, अनि उत्पादन पनि बाह्रै महिना लिन सकिन्छ । फर्ममा अहिले तरकारी उत्पादनसँगै गोलभेंडा, बन्दागोपी, काउली, भेडेखुर्सानी, काँक्रालगायतका बिरुवा पनि उत्पादन तथा बिक्री बितरण हुने गरेको सञ्चालक धितालले बताए । तरकारीको व्यवसायिक उत्पादन गर्ने गरी कारोबार सुरु नभए पनि तरकारीको बेर्नाको कारोबार सुरु भइसकेको उनको भनाइ छ । फर्म दर्ता गरेको करिब २ वर्षमा तरकारी उत्पादन तथा तरकारीको बेर्ना उत्पादन सुरु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्