सगरमाथामा गाउँ चिनाउँने झण्डा फहरिने

मुलुकका प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने प्रयास स्वरुप किर्तीमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले आफ्नो आरोहणको १४औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथामा गाउँ चिनाउने झण्डा फहराउने भएका छन् । विगत चार महिनादेखि वि विल राइज फाउन्डेसनले ओझेलमा रहेका पर्यटकीय स्थलको खोजी अभियान ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिता सञ्चालन गरिरहेको छ । यसै अभियानअन्तर्गत ‘मेरो गाउँ मेरो ठाउँ’ उल्लेखित झण्डा सगरमाथामा फहराइने भएको हो । फुर्वा सोमबार बिहान सगरमाथा बेसक्याम्पतर्फ प्रस्थान गरेका छन् ।
हालै सगरमाथामा लगिने झन्डालाई राष्ट्रिय सभा सांसद कोमल ओली, भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सीईओ दिपकराज जोशी, अल्ट्रा धावक मीरा राई, फुटबल टिमका पूर्वकप्तान राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल र फ्रान्सका लागि पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले आरोही शेर्पालाई हस्तान्तरण गरेका थिए ।
प्रतियोगीले गाउँठाउँमा ओझेलमा रहेका स्थान, पर्व, कला, संस्कृति, खानपान, भेषभूषा लगायतका कुनै पनि विषयमा केन्द्रित रही अधिकतम पाँच मिनेटसम्मको भिडियो तयार पार्नेछन् । एक प्रतियोगीले एक वा एकभन्दा बढी भिडियो समावेश गर्न पाउने प्रावधान छ । देशभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउनेछन् । प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पाउने छ । दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउँनेछन् । पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियो छनोट हुने र यसले पनि एक लाख रुपैयाँ पुरस्कार पाउने छ ।