Logo

मनाङमा विद्युतीय राहादानी वितरण

लमजुङ-हिमाली जिल्ला मनाङमा पनि विद्युतीय राहादानी वितरण सेवा सुरू भएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले विद्युतीय राहादानी वितरणका लागि आवश्यक संरचना र प्राविधि कव्यवस्थापन गरी सेवा सुरू गरेको हो ।
सरकारले एमआरपी राहादानी वितरण रोकेसँगै मनाङमा बन्द भएको राहादानी सेवा लामो समयपछि पुनः सुचारु भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । विद्युतीय राहादानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिव आठ महिना राहादानी सेवा प्रभावित भएको थियो ।
सरकारले देशभरका ७७ वटै जिल्लाबाट विद्युतीय राहदानी सेवा सुरू गर्ने भनेपनि हिमाली जिल्लामा त्यसको व्यवस्थापन गर्न ढिलाई गरेको थियो । हिमाली जिल्लामा सेवाग्राहीको चाप कम हुने भन्दै व्यवस्थापनमा ढिलाई गरेपनि प्रशासन कार्यालयको आग्रहमा हाल सेवा सुचारु भएको हो ।
जिल्ला प्रशासन कार्यालय मनाङमा सेवाग्राहीको चाप कम भएपनि राहादानी सेवाका लागि भने सेवाग्राही दैनिकजसो आउने गरेका छन् । जिल्लामा यसअघि पनि नागरिकता भन्दा राहदानीका लागि बढी सेवाग्राही आउने गरेका थिए । जिल्लामा राहदानी सेवा नहुँदा प्रशासन कार्यालयले सिफारिस मात्रै गर्दै आएको थियो । जिल्लाबाट सिफारिस लिएका सेवाग्राहीले राहदानी लिनका लागि काठमाडौ पुग्नुपर्ने बाध्यता थियो ।
गत १ मंसिरदेखि ई–पासपोर्ट लागू भएसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो । यसअघिको एमआरपी राहदानीलाई प्रतिस्थापन गर्दै सरकारले ई–पासपोर्ट (विद्युतीय राहदानी) प्रचलनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्