टर्दै एमाले–माओवादी एकता «

टर्दै एमाले–माओवादी एकता

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता टर्ने खतरा बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी एकता गर्ने गरी गठबन्धन बनाएर होमिएका दुई दलबीचको एकता नहुने सम्भावना बढेको हो ।
पार्टी एकता गर्ने र स्थिर सरकार दिने एजेण्डा लिएर निर्वाचनमा गएका दुई दलले बहुमत प्राप्त गरेर सरकार गठन गर्ने तयारीमा छन् । सँगै पार्टी एकताका लागि पनि छलफल अघि बढाइरहेका छन् । सरकार गठबनका विषयमा दुई दलबीच समस्या देखिँदैन । प्रदेश सरकार गठन गर्ने विषयमा दुई दलबीच ७०-३० को भागवण्डा समेत भइसकेको छ ।
तर, पार्टी एकताका बारेमा चाहिँ दुई दल एकमत हुन सकेका छैनन् । एकिकृत पार्टीको नेतृत्व कसले गर्ने र पार्टीको वैचारिक लाइन के हुने भन्ने बारेमा भतभेद् देखिँदै आएको छ ।
“प्रदेश र केन्द्रीय सरकार बाम गठबन्धनकै बन्छ । राष्ट्रपति माओवादीले पाउने र प्रधानमन्त्री एमालेले चलाउने गरी सहमती बन्छ,” एक नेताले दावी गरे, “तर पार्टी एकता टर्ने सम्भावना बढेको छ ।”
माओवादीले सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्दा पार्टी नेतृत्व पुष्पकमल दाहालले पाउनुपर्ने बताउँदै आएको छ । तर एमाले नेताहरू दाहाललाई अध्यक्ष मान्न तयार नभएको स्रोतको दावी छ । जसका कारण पार्टी एकतामा आशंका देखिएको बताइएको छ । प्रदेश सरकार गठनमा प्रयोग भएको मापदण्ड अनुसार नै पार्टी एकता गर्नुपर्ने केही एमाले नेताहरूले बताउँन थालेका छन् । जुन माओवादी स्विकार्न तयार छैन । माओवादीले पार्टी एकतामा निर्वाचनमा सिटबाँडफाँड गर्दा लागु भएको मापदण्ड र प्रदेश सरकारमा पदबाँडफाँड लागु भएको मापदण्ड पार्टी एकतामा लागु गर्न नहुने बताउँदै आएका छन् ।
यस्तै पार्टीको बिचार के हुने भन्ने बारेमा समेत दुई पार्टीबीच मतभेद छ । एमाले नेताहरूले जनताको बहुदलिय जनवाद नै अहिलेको उपयुक्त विचार भएको बताउँदै आएका छन् । माओवादी नेताहरू भने जबज र २१ औं शताव्दिको जनवादका राम्रा पक्षहरू ग्रहण गरेर छुट्टै विचार निर्माण गर्नुपर्ने पक्षमा छन् ।
एमालेले एकता नचाहेको माओवादी निष्कर्ष
एमाले दाहाललाई अध्यक्ष मान्न तयार नभएको भन्दै माओवादी नेताहरू एमालेले एकता नचाहेको निष्कर्षमा पुग्न थालेका छन् ।
“सरकारको नेतृत्व र पार्टीको नेतृत्व दुई अध्यक्षमध्ये एक–एकले गर्ने ढंगले छलफल भएको थियो । पार्टी वा सरकारको नेतृत्व नपाए एकतामा जान सकिन्न,” एक माओवादी नेताले भने, “सरकार गठबन्धनकै बन्छ । तर एकता टर्ने देखिन्छ । एकता नभए प्रधानमन्त्री समेत आधा–आधा कार्यकाल चलाउने गरी सहमती हुन सक्छ ।”
एमालेले जबज स्विकार्नुपर्ने लगायतका र पार्टी नेतृत्व समेत नछोड्ने खालका कुरा गरिरहेको भन्दै एमालेले एकता नचाहेको निष्कर्षमा माओवादी पुगेको स्रोतले जनाएको छ । “एमालेले नेतृत्व छोड्न तयार नहुनु र फेस सेभिङका लागि विचारमा सहमती जुट्न नसके जस्तो देखाउन जबजको अडान राख्नुले उसले एकता नचाहेको जस्तो देखिन्छ,” ती नेताले भने, “हाम्रोमा कुनै समस्या छैन । पार्टी एकता एमालेकै कराणले तत्काल नहुने सम्भावना बढेको छ ।”
आइतबार ओली र दाहालबीच चार घण्टा बढी भएको गोप्य वार्तामा पार्टी एकताका बारेमा छलफल भएको थियो । तर ओलीले दाहाललाई अध्यक्ष दिन नसकिने बताएको स्रोतको दावी छ । केही समय यता माओवादी नेताहरूले एमालेले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छाड्न नचाहेको संकेत गर्दै आएका छन् । उनीहरूले ओलीलाई प्रधनमन्त्री बनाउन मात्रै पार्टी एकता नहुने टिप्पणी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्