Logo

निमोनियाले वडाध्यक्षको निधन

खोटाङ-निमोनियाका कारण खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निधन भएको छ । ज्वरो आउने, छाती दुख्ने, घाँटी घ्यार–घ्यार हुने लगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ ३७ वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्य समस्या बल्झिँदै गएपछि उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा राईको खिदिमाकै सौर्य भन्ने ठाउँमा निधन भएको नेकपा खोटाङका नेता बबी चामलीङले बताए । गत चैत ३० गतेदेखि सामान्य रुघाखोकीको समस्या देखिएका राईलाई गत आइतबार घरैमा अहेव बोलाएर इन्जेक्सन दिइएको थियो । इन्जेक्सन दिएको केही घण्टा पीडा हल्का भए पनि स्वास्थ्यमा सुधार नभएपछि राईलाई सोमबार उपचारका लागि जिल्ला अस्पताल हिँडाइएको थियो । कच्ची सडकमा अन्य सवारी साधन हिँड्ने अवस्था नहुँदा वडाध्यक्ष राईलाई ट्रयाक्टरमा राखेर अस्पताल लगिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । उनलाई साप्सु खोलासम्म पु-याएपछि त्यहाँबाट एम्बूलेन्समार्फत अस्पताल पु-याउने तयारी गरिएको थियो । तत्कालिन एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका राईको निधनमा नेकपाका नेता तथा शुभेच्छुक खिदिमा पुगेका छन् ।
२०५४ सालमा अनेरास्ववियु सिद्धेश्वरी मावि खिदिमा इकाई कमिटिको अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका राई साकेला गाउँपालिकाको कार्यपालिका सदस्य एवं सामाजिक बिकास समितिका संयोजक थिए । उनी अनेरास्ववियुका जिल्ला सदस्य, तत्कालिन एमालेका गाउँ कमिटि अध्यक्ष हुँदै जिल्ला कमिटि सदस्यको भूमिकामा पुगेका थिए । साहित्यमा मणि मञ्जिलका नामले चिनिने राईका श्रीमती र दुई छोरी छन् । २०३९ साल पुस १ गते जन्मिएका राईको निधनमा नेकपा सहित अन्य दलका नेता तथा शुभेच्छुकले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्