नेपाल टेलिकमले फोरजी विस्तार गर्ने

नेपाल टेलिकमले फोरजी-एलटीई आयोजनाको थप विस्तार गर्न लागेको जनाएको छ । यसैगरी, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधार सम्बन्धमा विहीबार पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरी जानकारी गराएको छ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमले आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले नेपाली जनता बसोबास गरेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको बताए । उनले आगामी दिनमा समेत देशका जनताको शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा परिवर्तन ल्याउनका लागि कम्पनीले भूमिका खेल्ने बताउँदै छोटो अवधिमै फोरजी सेवालाई देशव्यापी रूपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अगाडि बढेको पनि बताए ।
यस्तै, नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले देशभर सातै प्रदेशमा नेपाल टेलिकमले सेवा विस्तारको लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको भन्दै यस मध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको बताइन् । नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात् हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन्, उनले जानकारी दिइन् ।
सम्झौता अनुसार १२ महिनामा कार्य सम्पन्न गर्नको लागि साइट सर्भेको काम शुरु भइसकेको भन्दै उनले कम्पनीले नेपालमै पहिलो पटक २०७३ पुस १७ (२०१७ जनवरी १) मा काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा सुरु गरेको पनि स्मरण गरिन् ।
चालु आर्थिक वर्षको चैत मसान्त सम्म ४ सयवटा थ्रीजी बीटीएसहरुको स्तरोन्नति गरिएको तथा सो अवधिमा ४ सय ७ वटा बीटीएस थप गरिएको पनि उनले बताइन । एक करोड लाइन मोबाइल आयोजनाअन्तर्गत ग्राहकको माग एवं प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानहरुमा मोबाइल टावर थप गर्ने कार्य जारी रहेको तथा सो आयोजना अन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको र प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पनि उनले जनाइन् ।
साथै, उनले नेपाल दूरसञ्चार प्राधिकरणले गत पौष र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वी राजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदनअनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा राम्रो पाइएको बताइन् ।
मध्य पहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको भन्दै उनले सो आयोजनाका लागि ५ मध्ये ४ वटा सम्झौता सम्पन्न भइसकेका बताइन् ।