गठबन्धन सफल : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् ।
उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे, ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।’
उनले यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दल दृढ रहेको बताइन् । मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई आफ्नै निवास खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई निरन्तर अगाडि बढाउने विश्वास दिलाए ।
उनले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने संकल्प गर्ने बेला भएको उल्लेख गरे । अध्यक्ष दाहालले भने, ‘निर्वाचन अघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकामा तपाईहरु सबैलाई बधाई र कार्यकालको शुभकामना छ ।’
उनले मध्यपुरथिमि भक्तपुरको एउटा ऐतिहासिक नगर भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिंगो भक्तपुरमा पर्ने बताए । मध्यपुरथिमिमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको धारणा थियो ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरी विजयी भए ।