विप्लवलाई मूलधारको राजनीतिमा ल्याइन्छ «

विप्लवलाई मूलधारको राजनीतिमा ल्याइन्छ

हेटौंडा-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेक्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाउनु संवैधानिक बाध्यता भएको बताएका छन् । संविधानले आपराधिक तथा ध्वंसात्मक गतिविधि गर्न कसैलाई छुट नदिएकाले आफूहरुले संविधान र कानुनको पालना मात्र गरेको बताए ।
हेटौंडामा भएको ३ नम्बर प्रदेशस्तरीय सुरक्षा परिषद्को गोष्ठीलाई सम्बोधन गर्न बिहीबार बिहान हेटौंडा आइपुगेका गहृमन्त्री बादलले सञ्चारकर्मीसँग कुरा गर्दै विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयत्न भइरहेको बताए । राज्य र संविधान विरोधी समूहको रुपमा रहेको विप्लव समूहलाई वार्ता र संवादको माध्यमबाट मूल राजनीतिक धारमा ल्याउनेबारे आफूहरुको ध्यान रहेको उनले स्पष्ट पारे ।
विप्लव समूहमाथिको प्रतिबन्धबारे नकारात्मक टिप्पणी हुने गरेकोमा उनले आपत्ति जनाए । उनले भने, “विप्लव समूहमाथि लगाइएको प्रतिबन्धलाई नकारात्मक रुपमा लिनुपर्ने आवश्यकतै छैन, हाम्रो संविधान र कानुनले ध्वंसात्मक गतिविधि गर्न छुट दिएको छैन । कानुनविपरित गतिविधि गर्ने जोकोहीलाई राज्यले कारबाही गर्छ नै । यदि उहाँहरु शान्तिपूर्ण राजनीतिमा आउन चाहँदा सरकारले वार्तामार्फत् समस्या समाधान गर्छ ।” गृहमन्त्री थापाले राज्य विरोध गतिविधि गरेको समयमा सीके राउतलाई पनि नियन्त्रणमा लिएको स्मरण गराए ।
मन्त्री थापाले देशको सुरक्षा अवस्थालाई सुदृढ गरी शान्ति सुरक्षाबारे नयाँ रणनीति तय गर्न हेटौंडामा सुरक्षा परिषद्को भेला राखिएको बताए । आन्तरिक सुरक्षालाई सुदृढ नगरी विकास र समृद्धिलाई सुनिश्चित गर्न नसकिने उनको भनाइ थियो । उनले संघीय प्रहरी ऐन नबनेको कारण प्रदेश र स्थानीय तहलाई शान्ति सुरक्षाको अधिकार नदिइएको जस्तो देखिएको भएपनि कार्यकारी आदेशबाट उक्त समस्याको समाधान गरिएको बताए । संघीय प्रहरी ऐन पारित नहुँदा प्रदेश र स्थानीय तहले अधिकार नपाएको महसुस गर्ने गरेको भन्दै उनले संघीय सरकारले ऐन बनाएसँगै प्रदेशले पनि संविधानअनुसारको अधिकार प्रयोग गर्ने उनले विश्वास व्यक्त गरे ।
सुरक्षा गोष्ठीमा प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर इन्द्रजित राई, राजनीतिक सल्लाहकार सूर्य सुवेदी (पथिक) नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक गणेश अधिकारीले केन्द्रीय सुरक्षा योजना, नेपाली सेनाका मध्यपृतना हेडक्वार्टरका पृतनापति उपरथि सुवर्णबहादुर शाह लगायत उपस्थित थिए ।
बुधबारको बैठकमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आआफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । मंगलबारको बैठकमा चारै सुरक्षा निकायका प्रमुखले आफ्नो प्रतिवेदन राखेका थिए । बैठकमा वर्तमान सुरक्षा अवस्था र आगामी योजनाको विषयमा छलफल भएको थियो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रभाव र त्यसलाई नियन्त्रण गर्ने रणनीति, चीन र भारत नाका भएर हुने अबैध व्यापार नियन्त्रणलगायतका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्