बागमती स्वच्छता कायम गर्ने उम्मेदवारको साझा एजेन्डा «

बागमती स्वच्छता कायम गर्ने उम्मेदवारको साझा एजेन्डा



काठमाडौं र ललितपुर महानगरपालिकाका उम्मेदारहरूले बागमती नदीको प्रदूषण हटाएर स्वच्छता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । फोहोरको राम्रो व्यवस्थापन, ढल व्यवस्थापन, जनचेतना अभिवृद्धि, वृक्षरोपण गरी बागमती नदी स्वच्छता कायम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बागमती सफाइ महाअभियान सञ्चालन भए पनि नतिजा भने प्रभावकारी देखिएको छैन । महाअभियानले नौ वर्ष पूरा गर्नै लाग्दा मुलुकमा स्थानीय तहको निर्वाचन हुँदैछ । अभियानका अभियन्ताहरूले निर्वाचनको समयमा काठमाडौं उपत्यकाभित्र बागमती नदी किनाराका पालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवार भएका प्रमुख राजनैतिक दलका र स्वतन्त्र उम्मेदवारलाई आमन्त्रण गरिएको थियो । बागमती सरसफाइ अभियन्तासंँग अन्तरक्रिया तथा प्रतिबद्धता लिने क्रममा उम्मेदारहरूले फोहोर व्यवस्थापन, उपत्यकाका नदीनाला तथा सार्वजनिकस्थल सरसफाइ गर्ने, सार्वजनिक जमिनको अतिक्रमण हटाउने, ढल व्यवस्थापन गर्ने तथा पुरातात्विक सांस्कृतिक सम्पदास्थलको मर्मत सम्भार तथा संरक्षण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाको गठबन्धनका तर्फबाट नगर प्रमुख उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेको तर्फबाट केशव स्थापित, विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्रबाट सुशील थापा, रवीकान्त मानन्धरले प्रतिबद्धता गरेका छन् । नगर उपप्रमुखका उम्मेदवार श्री रिंकु श्रेष्ठ (स्वतन्त्र तथा ललितपुर महानगरपालिकाको नगर प्रमुखका उम्मेदवार विवेकशील साझा उज्वल कृष्ण श्रेष्ठको उपस्थिति थियो । फोहोरको वैज्ञानिक ब्यवस्थापन, पुरातात्विक स्थलहरूको संरक्षण र दिगो व्यवस्थापन, ढल निकास तथा सार्वजनिकस्थलको संरक्षण तथा सौन्दर्यीकरणमा आफ्ना प्रतिबद्धता ब्यक्त गरेका थिए ।

महाअभियानप्रति फोनमार्फत समर्थन जनाउँदै ललितपुर महानगर पालिकाका नगर प्रमुखका उम्मेदवार चिरीबाबु महर्जन, उपप्रमुखका उम्मेदवार बाबुराज वज्राचार्य (गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र), ललितपुर महानगर पालिकाका नगर प्रमुखका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र काठमाडौं महानगरपालिकाका नगर उपप्रमुखका उम्मेदवार रामेश्वरले बागमतीको सौन्दर्यता कायम राख्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा सिर्जना सिंह र उज्ज्वलकृष्ण श्रेष्ठले तत्कालै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे पनि अन्य उम्मेदवारहरूले मौखिक प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धतापत्रमा थप सुधार गरेर हस्ताक्षर गरिने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्