Logo

कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिह्नलाई प्वाल पारेको भनाइ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सुर्य चिन्हलाई प्वाल पारेको बताए ।
मंगलबार गठबन्धनको तर्फबाट गरिएको काठमाडौं महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले घोचेर एमालेको सूर्य चिन्ह प्वाल पारेको बताएका हुन् । सत्तारुढ गठबन्धनको विरोध गर्ने एमालेले कमल थापा, राजेन्द्र लिङ्देनदेखि विप्लव र सिके राउतसम्म गठबन्धन गरिरहेको उनले बताए । कांग्रेसलाई रुखमा भोट हाल्न नपाएका विचरा भनिएको उल्लेख गर्दै उनले एमालेले पनि गत निर्वाचनमा ५९ वटा क्षेत्रमा सूर्यमा भोट हाल्न नपाएको र हसिया हतौडामा भोट हालेको स्मरण गराउनुभयो । महामन्त्री थापाले गठबन्धनको राजनीति कसको कारणले गर्दा आएको हो भन्ने प्रश्नसमेत गरे । उनले भने, ‘हामी कांग्रेसको कार्यकर्तालाई के भनेको पाउँछौ भने बिचरा बरा रुखमा भोट हाल्न पाएका छैनन् भनेर । काठमाडौंबासिले सोध्नुपर्छ, आम नेपालीले सोध्नुपर्छ, नेकपा(एमाले)को अघिल्लो चुनावमा ५९ वटा क्षेत्रमा नेकपा(एमाले)को उम्मेदवार पनि थिएन । ५९ वटा क्षेत्रमा सूर्य चिन्हमा एक जनाले मत हाल्न पाएन हसियाँ हतौडामा मत हाल्नुप¥यो अस्ति भर्खरको चुनावमा होइन । अस्ति भर्खर प्रचण्डलाई, नेकपा(माओवादी केन्द्र)लाई मत हालेर जिताएर आएर नेकपा(एमाले)ले पार्टी नै एउटै बनाएको होइन ? अनि यो पटकको चुनावमा गठबन्धन भनेर हामीहरू पाँच वटा पार्टी एक ठाउँमा उभिएका छौँ । पाँच पार्टी संसदमा सँगै छ । सरकारमा सँगै छ ।
तर एमालेसँग उभिएको पार्टी हेरौँ । मकवानपुरमा गयो कमल थापा, चितवनमा आयो राजेन्द्र लिङ्देन । डाडाँ चढ्यो विप्लव । ओरालो ओर्लियो सिके राउत । परिवार दलको साँचो देखि सिके राउतको लाउडस्पिकरसम्म, कमल थापाको तीरदेखि राजेन्द्र लिङ्देनको हलो सम्म चारतिरबाट तपाईले सुर्य चिन्ह हेर्नुभयो भने घोच्दा घोच्दा प्वाल परिसकेको देख्नुहुन्छ । आज नेपालमा गठबन्धन राजनीतिको सबैभन्दा ठूलो आलोचक एमाले र त्यसका नेता हुनुहुन्छ । तलबाट जनताले प्रश्न गर्ने होइन ? आज गठबन्धनको राजनीति कसको कारणले गर्दा आएको ।’
महामन्त्री थापाले एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताउनुभयो । स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने उनले बताए । उनले भने, ‘काठमाडौंको मेयर हुन्छ । त्यसलाई छोडेर गएर माओवादीको प्राधिकरणको प्रमुख हुन्छ । त्यसलाई छोडेर गएर प्रजा परिषद् पार्टी खोल्छ । त्यसलाई छोडेर गएर संघीय परिषद्को उम्मेदवार हुन्छ । त्यहाँबाट फन्को मारेर नाच्दै, गाउँदै अहिले एमालेको उम्मेदवार हुन्छ । उसलाई कसैले प्रश्न गर्दैन । ऊ हुन पाउने । ऊ एमाले पनि हुन पाउने, माओवादी पनि हुन पाउने, राजावादी पनि हुन पाउने । घुम्न पाउने, बस्न पाउने, उठ्न पाउने, नाच्न पाउने अहिले फेरि आएर दौरा सुरुवाल लगाएर आएर मै हो पनि भन्न पाउने । तर, एउटा महिला नेविसंघमा काम गरेर, आन्दोलन गरेर, परिवारको जिम्मेवारी वहन गरेर, म पनि आउँछु, मैदानमा लड्छु । मनोनित गरेको पद होइन, चुनाव नै लडेर, भोट मागेर निर्वाचित हुने कोसिस गर्छु भन्दै गर्दा उसले चाहीँ जवाफ दिनुपर्ने । उसले चाहीँ उत्तर दिनुपर्ने ?’
महामन्त्री थापाले एमालेले अघिल्लो निर्वाचनमा गरेको प्रतिबद्धतालाई पूरा नगरेर मतदाता र काठमाडौंबासिलाई हेपेको बताए ।

प्रतिक्रिया दिनुहोस्