खोटाङमा अधिकांश उम्मेदवार पुरानै «

खोटाङमा अधिकांश उम्मेदवार पुरानै


खोटाङ– खोटाङमा स्थानीय तहको निर्वाचन, २०७९ लड्ने अधिकांश उम्मेदवार पुरानै देखिएका छन् । २०७४ सालको निर्वाचन जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेका जनप्रतिनिधि फेरि उम्मेदवार दोहोरिएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दशवटा स्थानीय तह छन् । धेरैजसो स्थानीय तहमा अघिल्लो निर्वाचन जितेका केहीलाई यथास्थानका लागि र केहीलाई बढुवा गरेर पार्टीले टिकट दिएका छन् । आकांक्षा देखाएका तर पार्टीबाट टिकट नपाएकाले पनि उम्मेदवारी दिएका छन् ।
जिल्लाको जन्तेढुंगा र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा यथास्थानका लागि, वराहपोखरी र केपिलासगढी गाउँपालिकामा प्रमुखमा मात्र यथास्थानका लागि, दिक्तेल रुपकोट मझुवागढी नगरपालिका र ऐँसेलुखर्क गाउँपालिकामा उपप्रमुखमा मात्र यथास्थानका लागि, खोटेहाङ गाउँपालिका, वराहपोखरी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा उपप्रमुखबाट प्रमुखका लागि गत निर्वाचन जितेकाहरूको उम्मेदवारी छ । गत निर्वाचनमा वडाध्यक्ष जितेकामध्ये एक स्वतन्त्रसहित दुई जना पालिका प्रमुख र तीन जना उपप्रमुखको उम्मेदवार बनेका छन् ।
जिल्लाका ७९ वडामध्ये ३५ वडामा गत निर्वाचन जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेकाहरू फेरि वडाध्यक्षको उम्मेदवार दोहोरिएका छन् । एमालेले २१, कांग्रेसले ८, माओवादीले ४, जनता समाजवादी पार्टीले १ जनालाई वडाध्यक्षको उम्मेदवार दोहो¥याउँदा कांग्रेसले पुनः टिकट नदिएपछि एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा पराजित भएकाहरूले पनि फेरि टिकट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्