Logo

धनगढीका उम्मेदवारको एजेन्डा नगरको विकास र औद्योगिकरण


धनगढी-धनगढी उपमहानगरपालिकामा मुख्य प्रतिस्पर्धी उम्मेदवारहरुको प्रमुख चुनावी एजेन्डा नगरको विकास र औद्योगिकरण भएको छ । सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच धनगढीमा मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकामा पद बाँडेर संयुक्त उम्मेदवार उठाएका छन् । एमालेले मेयर र उपमेयरमा उम्मेदवार खडा गरेको छ ।
कांग्रेसबाट निवर्तमान मेयर नृपबहादुर वड मेयर र माओवादी केन्द्रबाट शान्ति अधिकारीले उपमेयर पदमा सत्ता गठबन्धनको संयुक्त उम्मेदवार छन् । एमालेबाट रणबहादुर चन्द मेयर र कन्दकला राना उपमेयर पदमा उम्मेदवारी दिएका छन् । उनीहरु नै धनगढी उपमहानगरपालिकाको आसन्न चुनावमा मुख्य प्रतिस्पर्धी हुने आँकलन गरिएको छ ।
ति उम्मेदवारहरुले आआफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबारमात्रै सत्ता गठबन्धनका मेयर र उपमेयर पदका उम्मेदवारले संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नगरको योजनाबद्ध विकास र औद्योगिकरणलाई प्रमुख एजेन्डाका रुपमा अगाडि सारेका छन् । गठनबन्धनका उम्मेदवारले धनगढीको वडा नं. १५ र १६ लाई औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेका छन् । उपमेयरकी उम्मेदवार अधिकारीले ग्रामीण वस्तीको रुपमा रहेका ति वडाहरु चारैतिरबाट जंगलले घेरिएको हुनाले औद्योगिकरण गर्न उपयुक्त देखिएकाले त्यहाँ औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय लिएको बताइन् । उनले उद्योगमा लगानीमैत्री कानुन निर्माण गरी २५ करोड भन्दा बढि लगानीको होटल, उद्योग तथा कलकारखाना स्थापना गर्दा नक्सा पासमा ५० प्रतिशत छुट सहित आवश्यक सहजिकरण गरिने बताइन् ।
एमालेका उम्मेदवारहरुले पनि औद्योगिकरण र आर्थिक वृद्धिका लागि औद्यौगिक ग्राम स्थापना र पूर्वाधार विकास गरिने घोषणा गरेका छन् । मेयर पदका उम्मेदवार चन्दले लघु, साना र मझौला उद्योगहरुको स्थापना र विकास गर्न निजी तथा सहकारी क्षेत्रलाई प्रोत्साहन गरिने बताए । उनले दुग्ध तथा कृषिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्दै स्थानीय व्यवसाय प्रवद्र्धन गर्न हाटबजार पूर्वाधार विकास गरिने बताए । उनले सहकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय उत्पादन तथा वस्तुको बजारीकरण गरिने बताए ।
स्वतन्त्र उम्मेदवार हमालले नगरमा उद्योग सञ्चालन गर्न विशेष सहुलियत प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । कृषिजन्य उत्पादन उद्योग सञ्चालनमा विशेष जोड दिइने प्रतिवद्धता जनाउँदै एक वडा एक उत्पादन कार्यक्रम लागू गरेर कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरण गरिने जनाएका छन् । सत्ता गठबन्धनका उम्मेदवारले धनगढीको योजनाबद्ध विकासका लागि व्यवस्थित शहरीकरण, भूमि व्यवस्थापन, नदी तथा खोला व्यवस्थापन, एक गाउँ बहु कृषि उत्पादन, खानेपानी तथा ढल व्यवस्थापन, प्रत्येक वडामा विशेषज्ञ डाक्टर सहितको नगर स्वास्थ्य क्लिनिक, ह्याप्पी स्कुल नारासहितको अनिवार्य विद्यालय शिक्षा, सडक विस्तार तथा सुधार, सुशासन प्रबद्र्धन, उद्यमशीलता र रोजगार कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् । मेयरका उम्मेदवार वडले सहज यातायात सेवाका लागि उपमहानगरपालिकामा स्मार्टलाइट र सिसिटिभी जडान गरिने बताए । उनले इरिक्सा सञ्चालन, निजी, सहकारी तथा सरकारी साझेदारीमा पाँच वर्षभित्रै इलेक्ट्रिक बस सञ्चालन गरिने बताए । उनले नगरका सबै ठाउँ जोड्ने सडक कालोपत्रे गरीसक्ने जनाए ।
एमालेका उम्मेदवारले प्रत्येक सडकलाई कालोपत्रे गर्ने घोषणा गरेका छन् । उनीहरुले २ वर्षभित्रै कनरी पुलबाट उर्मा, भादा, घसिटा, बेहडाबाबा, पथरी हुँदै धनगढीसम्मको रिंग रोड निर्माण गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । नगरभित्र पार्किङ, ढुवानीका साधन पार्क, यात्रु प्रतिक्षालय निर्माण, प्रत्येक घरमा विद्युतीकरण, सडकमा सौर्य वत्ति जडान, विपन्न परिवारमा निःशुल्क विद्युत जडान, भवनसंहिता कडाइका साथ लागु गर्ने, भूउपयोग नीति निर्माण गरी आवास, कृषि, पर्यटन र औद्यौगिक क्षेत्रलाई व्यवस्थित गर्ने, पर्यटनका लागि तालतलैया र धार्मिकस्थल संरक्षण गर्ने, कृषि विमका लागि सहजिकरण वर्दै कृषि कर्जा उपलब्ध गराउन बैंकहरुसँग समन्वय गर्ने लगायतका १६ बुँदे प्रतिवद्धता जनाएका छन् ।
स्वतन्त्र उम्मेदवार हमालले नगरबासीले भोग्दै आएको डुवानको समस्यालाई अन्त्य गर्ने, चौराहादेखि क्याम्पस रोडसम्मको जीर्ण सडकलाई कालोपत्रे गर्ने, उपमहानरपालिकाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माण गरी प्राथमिकताका आधारमा पुर्वाधार विकास गर्ने, इरिक्सा चार्जिङको व्यवस्था सहितको पार्किङ स्थल बनाउने, नदी नालामा पुल निर्माण हुनबाँकी ठाउँमा पुल निर्माण गर्ने, कृषि एप निर्माण गरी कृषकको उत्पादनलाई बजारसम्म पु¥याउन मद्दत गर्ने, प्रत्येक वडामा कृषि प्राविधक सेवा पु¥याउने लगायतको प्रतिबद्धता जनाएका छन् । उनले उपमहानगरपालिकाबाट कुनै पनि किसिमको सुविधा नलिएर सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्