Logo

कांग्रेसको संकल्प ३० युनियनसम्म विद्युत् निःशुल्क

विराटनगर – नेपाली कांग्रेस विराटनगर महानगरले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भ पारेर तय गरिएका कार्यक्रमहरू समेटिएको संकल्पपत्र सार्वजनिक गरेको छ ।
विराटनगर महानगरभित्र ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताको बिजुलीको महसुुल तिरिदिनेसहितका विभिन्न कार्यक्रम समेटिएका चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । कांग्रेसको महानगर समितिले कार्यक्रम गरेर स्थानीय तह निर्वाचनका सन्दर्भमा बनाइएको संकल्पपत्र सार्वजनिक गरेको हो । महानगरमा आफ्नो दल विजयी भएमा ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउने कांग्रेसको घोषणा छ । स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार नागेश कोइरालाले आफूहरू बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादका अनुयायी भएकाले त्यही सपना साकार पार्न निम्न आय भएका नागरिकको समस्या सम्बोधन गर्ने गरीका कार्यक्रम घोषणा गरिएको बताए । “त्यसैका आधारमा हामीले फ्री विद्युत्को कार्यक्रम अघि सारेका हौँ,” उनले भने, “हामीले जे–जे पूरा गर्न सक्छौं त्यसलाई मात्रै संकल्पपत्रमा राखेका छौं ।”
कोइरालाले आफूले समाजवादको सिद्धान्तमा रहेर चुनावी संकल्पपत्र तयार पारेको दाबी गरेका छन् । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य वीमाको प्रबन्ध गरिने पनि कोइरालाले जानकारी गराए । कोइरालाले महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सुविधा सेवा र सामाजिक कार्यमा प्रदान गर्ने प्रतिबद्धता प्रकट गरे । उनले आफ्नो पार्टी विजयी भएमा विराटनगर महानगरपालिकामा भूमिगत पार्किङसहितको २५ सय क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने अर्को महत्वाकांक्षी घोषणा गरेका छन् ।
“आज हरेक राजनीतिक पार्टी, तिनका भ्रातृ, भगिनी र शुभेच्छुक संगठन तथा अन्य विभिन्न संघसंस्थाहरू आफ्नो महाधिवेशन गर्ने उपयुक्त स्थान पाइरहेका छैनन्,” उनको भनाइ थियो, “राजनीतिक चेतनाको उद्गमस्थल विराटनगरलाई महाधिवेशनको केन्द्र बनाउने हो भने यहाँको महत्त्व र आकर्षण अझ बढ्नेछ ।”
संकल्पपत्रमा अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पु¥याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने उल्लेख गरिएको छ । साथै सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड ब्याङ्क स्थापना गर्ने बताइएको छ । संकल्पपत्रमा जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने जानकारी गराइएको छ । कोइरालाले तारे होटल र कम्तीमा १ सय जनालाई रोजगारी दिने सपिङ कम्प्लेक्स, मल वा डिपार्टमेन्टल स्टोरलाई कम्तीमा ५ वर्ष महानगरपालिकाले लिने राजस्वमा ५० प्रतिशत छुट गर्ने घोषणा गरे । उनले आफ्नो दल विजयी भएमा विराटनगरमा एक औद्योगिक र राजनीतिक सङ्ग्रहालयको निर्माण गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्