कांग्रेस र एमालेद्वारा उम्मेदवार छनोट

स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमाले स्याङ्जाले धमाधम उम्मेदवार छनोट गरेका छन् । ३० वैशाखका लागि तोकिएको निर्वाचनको उम्मेदवार मनोनयन गर्ने पहिलो दिन ११ वैशाखमा कांग्रेस र एमालेले उम्मेदवार छनोट गरेका हुन् ।
नेपाली कांग्रेस स्याङ्जाले गठबन्धन कायम रहने गरी जिल्लाका ६ गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षसहितका उम्मेदवार छनोट गरेको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार चयनका लागि भने गण्डकी प्रदेशमा छलफल जारी रहेको बताइएको छ ।
गाउँपालिकामध्ये अर्जुनचौपारीमा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसकै उम्मेदवार बनाइएको छ । अन्य पाँचवटा गाउँपालिकामा भने गठबन्धन भित्रका उम्मेदवारलाई उपाध्यक्ष र केही वडाका अध्यक्षसहित सदस्य पद दिनेगरी उम्मेदवार छनोट गरिएको कांग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले जानकारी दिए ।
अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ्लाई उम्मेदवार बनाउने निर्णय भएको छ । आँधीखोलामा प्रेमराज पौडेल, फेदीखोलामा लक्ष्मीप्रसाद बराल, हरिनासमा टोपबहादुर भुजेल, बिरुवामा डोलराज पोखरेल र कालिगण्डकीमा माया रानालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको लम्सालले बताए ।
उपाध्यक्षसहित तोकिएका संख्यामा केही वडाअध्यक्ष र सहस्यहरूमा गठबन्धनले निर्णय गरेर उम्मेदवार पठाउने भएका छन् । एमालेको प्रभाव क्षेत्र मानिएको फेदिखोलाका बराल नेकपा एमाले परित्याग गरी हप्ताअघि कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई केही दिनअघि मात्रै कांग्रेस स्याङ्जाको जिल्ला सदस्य पदमा मनोनित गरिएको थियो ।